संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग

kp oli pm

काठमाडौं २० भदौ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

संविधानले नेपाली नागरिकलाई विनारोकटोक हिड्डुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दै सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनको आरोप छ । उनले भने “संविधान भन्दा माथि कोही पनि हँुदैन । संविधानको उलंघन गर्ने सरकारको औचित्य छैन । म यहीबाट राजीनामा माग्छु । राजा हामीले बनाएको होइन । प्रधानमन्त्री बनाएको हो । संविधानको उलंघन गर्न बनाएको होइन । ”

सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । उनले भने “बाँके निवासीले बर्दियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ । सरकारले कस्टडीमा लिन्छ । सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धीत पुलिस अफिसरलाई पनि कारवाही हुनुपर्छ । यसको न्यायिक छानविन समिति गठन गरियोस् ।”

मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उनले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए । उनले भने “कस्तो संविधानको कस्तो सरकारको अभ्यास गर्दैछौ हामी ? बास्तवमा सरकार लोकतान्त्रिक हो कि होइन ? सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन ?”

बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रसार गर्ने गरिएको भन्दै उनले आपत्ती जनाए

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);