भीसी फेरिए, भाषण फेरिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भीसी फेरिए, भाषण फेरिएन

vc bhasan

काठमाडौं, ५ साउन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले दीक्षान्त कार्यक्रममा बोल्ने भाषण अघिल्ला उपकुलपतिको हुबहु सारेको पाइएको छ । निवर्तमान उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले ४० औं दीक्षान्त कार्यक्रममा बोलेको लिखित भाषण खनियाँले हुबहु सारेर ४१ र ४२ औं दीक्षान्त कार्यक्रममा बोलेको पाइएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७१ पुस १४ मा भएको दीक्षान्त कार्यक्रममा महर्जनले गरेको भाषण र २०७२ मंसिर १६ मा रंगशालामै भएको ४१ औं दीक्षान्तमा खनियाँले दिएको लिखित भाषण जस्ताको तस्तै छ । कार्यक्रममा अतिथि र प्रमुख अतिथि फरक भएकाले सम्बोधन फरक भए पनि त्यसपछिका अरू विवरण उस्तै छन् । दुवै जनाको स्वागत मन्तव्य ९ पृष्ठकै छ । महर्जन र खनियाँको स्वागत मन्तव्यको एक/दुई अनुच्छेदमात्र फरक छन् ।

४० औं दीक्षान्तमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला प्रमुख अतिथि थिए भने ४१ औंमा राष्ट्रपति विद्यादेवी भण्डारी । ४० र ४१ औं दीक्षान्तका स्वागत मन्तव्यमा अतिथि र प्रमुख अतिथिको नाम, उपकुलपतिको नाम भने फरक छन् । सम्बोधनपछिको पेज २ र ३ को सबै वाक्य उस्तै छ । महर्जनको स्वागत मन्तव्यमा लेखिएको वाक्य मात्रै नभई कमा, पूर्णविराम पनि खनियाँकोमा दोहोरिन्छ ।

चौथो पेजमा पनि तथ्यांक र प्राविधिक नामबाहेक अरू वाक्य एउटै छन् । पाँचाैं पृष्ठमा महर्जनले शैक्षिक सत्र २०७१/७२ मा मात्रै ५ सय जना विदेशी विद्यार्थी त्रिविमा अध्ययनरत रहेको उल्लेख गरेका छन् भने खनियाँको भाषणमा शैक्षिक सत्र उल्लेख नगरी अघिल्लो वर्षको भाषणमा झैं ५ सय विद्यार्थी अध्ययनरत रहेको उल्लेख छ । यही पृष्ठमा महर्जनले त्रिविले गत वर्षदेखि सुरु गरेको सेमेस्टर प्रणालीले गुणस्तरमा तुलनात्मक रूपमा सुधार भएको उल्लेख गरेका छन् भने खनियाँको मन्तव्यमा सेमेस्टर प्रणाली सुरु गरेको तथ्य सबैलाई विदितै रहेको र उपलब्धि राम्रो भएको लेखेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);