काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अघिल्लो सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसदमा पेश गर्नुपर्ने मुख्य मागसहित कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न तयार नभएको भन्दै सरकारविरुद्ध सडक संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
मंगलबार विहान बसेको पार्टीका पदाधिकारी बैठकले तय गरेको घोषित आन्दोलनको कार्यक्रम अनुसार श्रावण ३ गते प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाईमा काठमाडौंको माईतीघर मण्डलामा सरकार विरुद्ध विरोध प्रर्दशन गरिने उनले बताए ।
उनका अनुसार श्रावण ५ गते नेपाल तरुण दलको अगुवाईमा माईतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रर्दशन गरिनेछ । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेटगरी गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सचेत गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु नल्याए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी दिएको पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।
सरकारले महंगी नियन्त्रण नगरेको तथा काठमाडौंको विभिन्न स्थानमा लोकतान्त्रिक मूल्य, मान्यता विपरित निषेधित क्षेत्र तोक्ने निर्णय गरेको विरोधमा कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ भने उसका भातृ संगठनहरुले सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएका छन् ।