चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ । गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइराला नेतृत्वको विज्ञ समूहले आयोजनालाई सुझाव प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ ।
सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो ठाउँमा ३५ मिटर हाराहारी लामो क्षेत्रमा भित्तो काट्नुपर्ने हुन्छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीले शुक्रबार प्रतिवेदन आयोजनालाई बुझाएको हो । आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले प्रतिवेदन अध्ययन गरेपछि काम अगाडि बढ्ने बताए ।
विज्ञ समूह नेपालमा पनि रहेकाले सोही समूह प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने विषयमा पछि छलफल हुने उनले बताए । कोइरालाको प्रतिवेदनमा सो ठाउँमा सन् २००४/२००५ मा २० मिटर भित्र पुग्ने गरी रक स्वायल एङ्करिङ गरिएको र सो एङ्करिङमा समस्या आएको हुनसक्ने पनि जनाइएको छ ।
यसैबीच नारायणगढ मुग्लिन सडक भासिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले त्यसको स्थलगत निरिक्षण गरेका छन् । सडक भासिँदै गएपछि त्यसको जोखिम न्यूनिकरणका लागि बस्नेतले निर्देशन दिएका छन् ।
बस्नेतसँगै चितवनका प्रहरी उपरीक्षक शुसिल सिंह राठौर, शसस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगर, राष्ट्रिय अनुसन्धान विभाग चितवनका प्रमुख कुलबहादुर खड्का जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरिक्षक मुनेन्द्र थापा लगायतको टोलीले निरीक्षण गरेको थियो । सडकको अवस्थावारे आयोजनाका प्रमुख रोहितकुमार विशुरालले जानकारी गराएका छन् ।