बाढी–पहिरोबाट दक्षिण एसियाली मुलुकमा डेढ करोड मानिस प्रभावित | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

काठमाडौँ, ४ भदौ । दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका हुन् । बाढी–पहिरोमा यस क्षेत्रका पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी) ले जनाएको छ ।

 

भारतका चार राज्य अति प्रभावित
मनसुनी वर्षाले दक्षिण एसियाको उत्तरी तथा पूर्वी भूभागमा धेरै क्षति पुर्‍याएको छ । अविरल बाढीले भारतको उत्तर प्रदेश, बिहार, आसाम र पश्चिम बंगाल सबैभन्दा प्रभावित छन् । वर्षाले उत्तर प्रदेशका दुई जिल्लामा सयौँ गाउँ डुबेका छन् । बाढीका कारण उत्तर प्रदेशमा विभिन्न जिल्लाका ५५ जनाको मृत्यु भएको छ । बाढीले सो प्रदेशमा एक लाख नागरिक विस्थापित हुनुका साथै झन्डै २० लाख प्रभावित बनेका छन्।

 

बाढीले बिहार राज्यमा एक सय ५३ जनाको मृत्यु भएको छ । बिहारमा सन् २००८ पछिकै ठूलो बाढी आएको भारतीय अधिकारीले बताएका छन् । बाढीका कारण बिहारका झन्डै चार लाख मानिस शिविरमा बस्न बाध्य छन् भने १० लाखभन्दा बढी प्रभावित छन् । बिहारमा बाढी प्रभावितको उद्धारका लागि पाँच हजार आकस्मिक सेवाका अधिकारी र दुई हजार सेना परिचालित गरिएको उच्च विपद् व्यवस्थापन निकायका अधिकारी अनिरुद्ध कुमारले बताए।

 

बाढीका कारण पूर्वी राज्य आसाममा ६० जनाको मृत्यु भएको छ भने करिब चार लाख २५ हजार मानिस राहत केन्द्रमा बस्न बाध्य छन् । बाढीका कारण सो राज्यमा एक सातादेखि रेल सेवा अवरुद्ध छ । बाढीले पश्चिम बंगालमा ५२ जनाको मृत्यु भएको छ भने दश लाख मानिस प्रभावित बनेका छन्। भारतको गुजरात क्षेत्रमा आएको बाढीका कारण मनसुन सुरु नहुँदै तीन सय ५० जनाको मृत्यु भएको थियो । भारतमा बाढीले १५ वर्षयताकै ठूलो क्षति पुर्‍याएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

 

मानवीय संकटको खतरा
बाढी र पहिरोका कारण यस क्षेत्रमा सबैभन्दा खराब मानवीय संकट निम्तिन सक्ने अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी ९आइएफआरसी०ले चेतावनी दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न संकट र रोग तथा महामारी फैलिने खतरा बढेको आइएफआरसीले जनाएको छ । नेपाल र बंगलादेशको एकतिहाइभन्दा बढी भागमा बाढी गएको आइएफआरसी एसिया प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक मार्टिन फलरले बताए । त्यस्तै, भारतका चारवटा राज्यका एक करोड १० लाख मानिस बाढीबाट प्रभावित भएको उनले जानकारी दिए । ‘बाढीले दशौँ हजार मानिस प्रभावित भएका छन् । वर्षौंपछि यस क्षेत्रमा चाँडै नै मानवीय संकट उत्पन्न हुँदै छ,’ उनले भने।

 

बाढी प्रभावित क्षेत्रमा तत्काल मानवीय पहल चाल्नुपर्ने उनले बताए । ‘विनाशकारी बाढीबाट प्रभावित मानिसको बढ्दो आवश्यकता पूरा गर्न तत्काल कदम चाल्नु आवश्यक देखिन्छ,’ फलरले भने । बाढी प्रभावित देशमा खाद्य संकटको जोखिम बढेको उनले बताए । ‘नेपाल, बंगलादेश र भारतका लाखौँ मानिसले गम्भीर खाद्यान्न अभावको सामान गरेका छन् । प्रदूषित पानीका कारण प्रभावित मानिसहरूमा रोगको जोखिम बढेको छ,’ उनले भने।

 

बंगलादेशमा बाढीको तह उच्च बिन्दुमा
बंगलादेशमा बाढीको तह उच्च बिन्दुमा पुगेको रेकर्ड गरिएको छ। भारतमा उर्लिएका केही नदीनाला बंगलादेशतर्फ बगेकाले आगामी दिन बंगलादेशका विभिन्न भाग थप डुबानमा पर्न सक्ने खतरा औँल्याइएको छ।

 

बाढीले बंगलादेशमा एक सयजनाको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । पानीको मात्रा निकै बढेकाले प्रभावित क्षेत्रका समुदायको उद्धार तथा राहत वितरणमा समस्या भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी (आइएफआरसी) ले जनाएको छ। यसैबीच, बाढीले प्रभावित क्षेत्रको अवस्था निकै निराशाजनक बनाएको सेभ दी चिल्ड्रेनका निर्देशक मार्क पियर्सले बताए। आजको नयाँ पत्रिका दैनिकले छापेको छ।