रामेश्वर सापकोटा
काठमाडौं, २८ असार । अबिरल वर्षा सँगै आएको बाढी र पहिरोबाट पीडित नागरीकलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले वर्षभरी केही नगर्ने तर बाढी पहिरो आउन थालेपछि मात्र तात्ने सरकारको प्रवृतिको आलोचना समेत गरे ।
हरेक वर्ष बाढी पहिरो र डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । तर, विपत व्यवस्थापनमा सरकारले पूर्वतयारी भने गर्ने गरेको पाइँदैन । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सम्भावित जोखिम न्युनिकरणका लागि सरकारले पूर्वतयारी नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनीहरुले पूर्वतयारीका साथै बाढी पहिरो र डुबानबाट पीडित भएका नागरिकलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद अमनलाल मोदीले विपत्ति आएपछि मात्र चर्चा हुनेगरेको भन्दै विपत व्यवस्थामानमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितलाई तत्काल राहतको व्यवस्था गर्नसमेत माग गरे ।
सांसद प्रेम सुवालले सरकारको लापर्बाहीका कारण भक्तपुर डुबानमा पर्नुका साथै चाँगुनारायण नगरपालिकामा पहिरोमा परी तीन जनाको मृत्यु भएको आरोप लगाए । उनले विपत व्यवस्थापनका लागि पूर्वतयारी र सावधानीमा सरकार असफल भएको टिप्पणी गरे ।
सांसद रामसहायकप्रसाद यादवले बाढी पहिरोका कारण कयौं सडकखण्ड अवरुद्ध हुँदा परीक्षा केन्द्रसम्म पुग्न कठिन भएकाले शिक्षक सेवा आयोगको परीक्षाको मिति सार्न सरकारसँग माग गरे ।
सांसदहरुले सरकारले विपद ब्यवस्थानमा पूर्व तयारी गर्न नसक्दा यसपटक पनि जनता बाढी र पहिरोको मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।