काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पु-याउन आफू सफल भएको दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलो पटक बराबरीको हैसियतमा ल्याउन सफल भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना र आशंका नरहेको बताए ।
उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढ्ने स्पष्ट पारे ।
उनले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलता भित्र कुनै दम नहुनेमा आफू सचेत रहेको बताए । प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको बताए । उनले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको बताए ।