काठमाडौं, २७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावली बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो ।
बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ ।
पार्टीका नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदलले तयार पारेको नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने जनाइएको छ । नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ । दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रियसमिति बनाउने व्यवस्था गरिएको छ ।
जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।