काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले महिला अधिकारको सवालमा नेपाल दक्षिण एसियामै अग्रणी मुलुक भएको दाबी गरेका छन् । योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको बताए ।
दाहालले सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेको योगदानको प्रशंसा पनि गरे । बाँचुन्जेल योगमायाले समाजका विकृति चिर्नमै समय लगाएको बताउँदै दाहालले योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराए । योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक मानिन्छिन ।
समाजको कठोर शासनको कडा प्रतिवाद गर्ने योगमायाले विक्रम संवत् १९९८ असार २२ गते आफ्ना भक्तसमेतलाई समेटेर जलसमाधि लिएकी थिईन ।




