काठमाडौं, १८ असार । सांसदहरुले अबिरल बर्षा संगै मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै जनताको जीउधनको सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका दैवीप्रकोप उद्धार समितिलाई तयारी अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद केदार सिग्देलले तनहुँ जिल्लाको भिमादन नगरपालिका वडा नम्बर ६ र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ को भिमाद बजार र पुलचोक बस्तीलाई सेती नदीको कटानले जोखिम बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आकाशमा बादल देखिनासाथ स्थानीहरु बस्ती छाडेर रुख मुनि बस्न बाध्य भएको भन्दै उनले बर्षा सुरु भएसंगै जुनसुकै बेला पनि ती बस्ती नदीको भेलमा पुग्न सक्ने जोखिम रहेकाले तत्काल त्यस क्षेत्रका स्थानीयको जीउ धनको सुरक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरे ।
उनले शुक्ला गण्डकी नगरपालिका अन्र्तगतका दर्जन बढी स्थानमा विगत ४० बर्ष देखि बसोबास गर्दै आएका १५ सय बढीले अझै लालपुर्जा पाउन नसकेको भन्दै तत्काल लालपुर्जा प्राप्त गर्ने प्रबन्ध मिलाउन पनि उनँले सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद पवित्रा निरौला खरेलले बर्षासंगै झापा क्षेत्र नम्बर २ दुर्गापुर–दैझोडा– खुदुनबारीबीचमा पर्ने कजवे भत्किएको र बस्ती डुबानमा परेको भन्दै चाँडो पुल निर्माण गरि सुचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद पार्वति कुमारी बिशुंन्केले केन्द्र, जिल्ला र स्थानीय तहमा भएको दैवी उद्धार समितिलाई साधन स्रोत सम्पन्न गरि सक्रिय बनाउन ध्यानाकर्षण गराइन् ।
सांसद पुर्ण कुमारी सुवेदीले अबिरल बर्षासंगै बाँकेमा पनि बाढीको संभावित जोखिम देखिएको भन्दै पुर्व तयारी र सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारसंग माग गरिन् । उनले आमाको नामबाट नागरिकता दिने व्यवस्था तत्काल मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
शुन्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी जिल्ला वडाअध्यक्षको मिलेमतोमा विदेशीलाई नेपाली नागरिकता दिने काम गरिएको भन्दै त्यस कार्यमा संलग्नलाई कारवाही गर्न माग गरे ।
सांसद दिलेन्द्र प्रसाद बडुले चिकित्सा शिक्षा र स्वास्थ्यलाई गुणस्तर बनाउने डाक्टर केसीको मागप्रति सरकार असहमत हुनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गरे ।
सांसद दिव्यमणि राज भण्डारीले दोलखा जिल्लामा संचालित अपर तामाकोसी हाईड्रो पावर लिमिटेडको जिल्लाबासीका लागि आव्हान गरेको शेयर आवेदनको समय असोज सम्मको समय मिलाउन माग गरे ।
सांसद दुर्गा बहादुर रावतले जनयुद्ध र जनआन्दोलनका घाईतेहरुको उपचार, विस्थापित शिक्षकको पुर्नवहाली नभएको भन्दै ती विषयहरु कुन मन्त्रालयले हेर्ने हो भनी सरकारसंग जानकारी माग गरे ।