“मेरो हातमा तीनटा लड्डु” | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

“मेरो हातमा तीनटा लड्डु”

dhiraj rai

धरान, १४ असार । सांगीतिक यात्राको सिल्भर जुब्ली भर्खरै पूरा गरेका पप गायक धीरज राई धरानमा गलाभरि खादा र मालामा भेटिए ।
बुद्ध नेपालमा जन्मिएको विषयलाई सांगीतिक अभियानमार्फत सार्थक बनाएको भन्दै स्थानीय संघसंस्था र फयानहरूले उनलाई सम्मानार्थ यता निम्त्याएका थिए । सम्मान ग्रहणपछि उनी अलि भावुक भएका थिए । ‘भर्खरै गायक बन्ने धूनमा थिएँ, त्यस बेला मलाई काठमाडौंले पत्याएकै थिएन,’ उनले सुनाए, ‘२०५३ असोजको दसैंताका मलाई धरानले स्टेज दियो । त्यो नै मेरो सांगीतिक यात्राको पहिलो एकल प्रस्तुति र टर्निङ प्वाइन्ट थियो ।’

त्यस बेला उनले ६ सय दर्शक क्षमता रहेको सैनिक भवनमा ‘लुकी लुकी’, ‘जाऊ समाऊ’, ‘मिस्टरियस गल्र्स’, ‘तिम्रा नयन तिम्रा अधर’, ‘गर्लफ्रेन्ड’, ‘सोल्टिनी’ लगायत १२ गीत सुनाएका थिए । त्यसअघि सुनाउँदै आएको भए पनि उनले धरानकै स्टेजबाट पहिलो पटक चर्चा कमाए । त्यस बेला उनको छवि नै बन्यो ‘नाच्दै गाउने केटो’ का रूपमा ।

बितेका २५ वर्ष उनले पप संगीतका लागि अन्य काम पनि गरे । पप संगीतमाथि पुस्तक निकाले, वरिष्ठ गायक ओमविक्रम विष्टमाथि डकुमेन्ट्री बनाए । १५ एल्बम दिए । ‘अब संगीतभन्दा भिन्न मेरो दुनियाँ रहेन,’ उनले भने, ‘बितेका वर्षहरूमा जे गरें, पप संगीतकै लागि गरें । यसैले मलाई चिनायो, संसार डुलायो ।’

केही समयपछि नै ‘मेरो विश्व भ्रमण नेपाली पपसँगै’ पुस्तक निकाल्न लागेका धीरजले आफ्नो करिअरको प्रारम्भिक समयमा धराने फेसनलाई पनि आफ्नो पर्सनालिटीसँग जोड्ने गरेका थिए । कतिपयले उनलाई धरानमै हुर्केको ठाने । खासमा उनका बाबु टंकबहादुर राईले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका बेला उनी यहाँ एक वर्ष मात्रै बसेका थिए । त्यस बेला उनी भर्खर ११ वर्षका थिए । ‘त्यस बेला धरानमा दार्जिलिङ्गे शिक्षकको खुब चलन थियो,’ उनले सम्झे, ‘तीमध्ये एक टिचरले सधैं गिटार बजाउँदै गाउँथे । उनैको प्रभावमा परेर गिटारप्रति आकर्षण बढ्यो ।’

धरानमा सात वटा एकल कन्सर्ट दिइसकेका उनी धराने फयानको विशेषताबारे पनि खुले । ‘यताकाहरू मनबाट चल्ने, रिसाए पनि कुनै खराब नियत नराखी रिसाउने तर एकै छिनमा पोजेटिभ सेन्स अफ हयुमरका साथ खुसी भइहाल्ने स्वभावको पाएँ,’ उनले भने । कुनै समय रंगमञ्च, कलाकारिता, फेसन र संगीतको केन्द्रकै रूपमा रहेको धरानले नै कुनै समय ‘आफूलाई नाच्दै गाउने ठिटो’ का रूपमा बाँकी दुनियाँमा चिनाएको स्विकारे ।

नेपाली संगीतलाई मुलुकबाहिर चिनाउने पनि उनको योजना छ । सुनाए, ‘यहाँका आदिवासी जनजाति समुदायका भर्जिन म्युजिक टेस्ट विश्व संगीत बजारमा नयाँ हुन सक्छ । त्यतातिर सोच्दै छु । बेल्जियमको बीभीबीए कम्पनीको वुमन रेकर्डसँग यसबारे सम्झौता नै भइसकेको छ ।’ सम्झौताअनुसार यति बेला उनी पालाम, साकेला, देउडा, भोजपुरीलगायत ६ गीत रेकर्ड गर्ने तयारीमा छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारीमा रहेका ती गीतलाई अंग्रेजीकरण गरिए पनि लय भने स्थानीय समुदायकै हुने उनले बताए ।

निरन्तर संघर्षले नै सफलता हासिल हुने मान्यता राख्ने उनी कुनै समय रेडियो नेपालमा जाँदा होच्याएर ‘यसलाई बाल कार्यक्रममा लैजाऊ’ भनेको क्षण कहिल्यै बिर्सन्नन् । ‘त्यही घटनाले मलाई अघि बढ्ने प्रेरणा दियो,’ उनले भने, ‘रेडियोमा गाउन नपाएपछि इन्जिनियरिङ पढें । त्यो पेसाले मलाई पैसा कमाएर छिट्टै एल्बम निकाल्न सघायो । गीतसंगीतमा चित्त नबुझे इन्जिनियरिङ गरेर पनि बाँच्न सक्छु । नभए कुनै कलेजमा पढाएर पनि बाँचिन्छ । अहिले त मेरो हातमा दुइटा हैन, तीन वटा लड्डु एकसाथ छन् ।’कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);