काठमाडौं, १४ असार । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी विमान काठमाडौं आइपुगेको छ ।
निगमले अमेरिकी कम्पनी एएआरसँग करिब ११ अर्ब रुपैयाँमा किनेको एयरबस कम्पनीको २ सय ७४ सिटे विमान केहीबेरअघि त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गरेको छ । ए ३३०–२०० सिरिजको नयाँ विमानलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीले पञ्चेबाजासहित स्वागत गरेका छन् ।
नयाँ विमानको नाम अन्नपूर्ण राखिएको छ । नयाँ विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् । विमानलाई दुबई, हङकङ, दोहा, क्वालालाम्पुर लगायत गन्तव्यमा उडाउने तयारी गरिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिए । निगमले सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएर वाइडबडी विमान खरिद गरेको हो । निगमले ३० वर्षपछि वाइड बडी विमान भित्र्याएको हो ।
निगमलाई सन् १९८० को दशकमा अमेरिकी कम्पनी बोइङले दुई वटा विमान दिएको थियो । दुईमध्ये निगमसँग हाल एउटा मात्र बोइङ छ । निगमले आफ्नो व्यापार बढाउन भन्दै अमेरिकी कम्पनी एएआरसँग वाइडबडीका दुई वटा विमान खरिद् गरेको हो । अर्को विमान एक महिनाभित्र आउने निगमले जनाएको छ ।