काठमाडाैं, १३ असार । रक्षामन्त्री ईश्वर पोखरेलले विपत व्यस्थापनमा नेपाली सेनाको भूमिकालाई प्रभावकारी बनाउने बताएका छन् । रक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको बुधबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिदै उनले विपत व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाको भुमिकालाई थप प्रभावकारी बनाउने बताए ।
नेपाली सेनाले बाहय सुरक्षा, आन्तरिक सुरक्षा, विपत व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, महत्वपुर्ण संरचना तथा अति विशिष्ठ तथा विशिष्ठ व्यक्तिको सुरक्षा तथा विभिन्न देशमा शान्ति स्थापना लगायत क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले विपत व्यवस्थापनमा सेनालाई थप उपकरणयुक्त बनाईने बताए ।
विपत व्यवस्थापनमा आवश्यक पर्ने उपकरण र सामाग्री उपलब्ध गराउने योजनामा सरकार रहेको भन्दै उनले विपत व्यवस्थापनको काम प्रभावकारी बनाउन एक मिडियम र दुई लाईट हेलिकप्टरको खरिद प्रक्रिया सुरु गरि सकिएको जानकारी दिए ।
उनले नेपाली सेनालाई आवश्यक पर्ने हातहतियार तथा सैन्य उपकरण प्रचलित आर्थिक कार्यविधि अनुरुप सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम खरिद गर्ने गरिएको स्पष्ट पारे । सो क्रममा भारत इजरायल, बेलायत, अमेरिका लगायत देशबाट आवश्यक उपकरण लिने गरिएको पनि उनले जानकारी दिए ।
कानुन बमोजिम विकास निर्माण तथा विपत व्यवस्थापनको साथै राष्ट्रिय महत्वका आयोजना निर्माणमा नेपाली सेनाको संलग्नता बढाउँदै लगिएको भन्दै उनले अहिले सम्म सेनाले १ हजार ६५ दशमलब १७ किलोमिटरका २७ वटा सडक निर्माण आयोजना र ३० वटा पुल निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिए ।
नेपाली सेना हाल काठमाडौं तराई दु्रतमार्ग, कर्णाली करिडोर, जाजरकोट डोल्पा दुनै लगायत सडक निर्माणमा संलग्न रहेको उनले बताए । उनले काठमाडौ तराई द्रुत मार्ग निर्माण गर्न नेपाली सेना सक्षम र काम प्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।




