काठमाडौं, १२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् ।
आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सार्वजनिक संञ्चारमाध्यममा सरकारले हस्तक्षेप गरेको भन्ने आवाज उठेको भन्दै उनले त्यसो नभएको स्पष्ट पारे।
उनले कुनै पनि कार्यक्रम बन्द नगरिएको जानकारी गराए । नेपाल टेलिभिजनको कर्मचारी निकालिएको र कार्यक्रम हटाईएको भन्ने सम्बन्धमा उठेको प्रश्नमा उनले कुनै पनि कर्मचारी ननिकालिएको र कार्यक्रम पनि बन्द नगरिएको स्पष्ट पारे । उनले भने “नेपाल टेलिभिजनबाट कोही पनि कर्मचारी निकालिएको छैन र कुनै पनि कार्यक्रम बन्द भएको छैन ।”
एनसेलबाट चन्दा लिएकोबारे आफुलाई जानकारी नभएको र करको सवालमा कुनै पनि किसिमको कानुनी उन्मुक्ति नदिने उनले बताए ।
नेपाल टेलिकमले सबै स्थान र सबै नेपालीको पहुँच पुग्ने गरि सेवा विस्तार गरेको तथा यसै बर्ष मात्रै ७ सय ३८ वटा टावर थप्न मन्त्रालयले निर्देशन दिईसकेको बताए ।
उनले मापदण्ड अनुसार पत्रकारिता क्षेत्र भन्दा बाहिरका संस्थालाई लोक कल्याणकारी विज्ञापन अन्र्तगत कुनै अनुदान नदिएको स्पष्ट पारे । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्युनतम पारिश्रमिक लागु गराउन समिति नै गठन भएको भन्दै त्यसको सफल कार्यान्वयनका लागि ठुला मिडियालाई घचघचाउने काम भईरहेको बताए ।
नेपाली सञ्चारमाध्यममा प्रसारित हुने विज्ञापनमा नेपाली नै हुनुपर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै क्लिन फिटको व्यवस्था लागु भएपछि विस्तारै समाधान हुने बताए । उनले सरकारले २ करोड पत्रकार वृत्तिकोषका लागि छुट्याएको र सो कोष सञ्चालनका लागि कार्यविधि र निर्देशिका पनि मन्त्रालयले तयार गरिसकेको जानकारी दिए ।
संञ्चारमन्त्रालय अन्र्तगत विनियोजित बजेटबारे २१ जना सांसदहरुले प्रश्न उठाएका थिए । विनियोजित बजेट माथिको छलफल सकिएपछि मंगलबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा संञ्चारमन्त्रीले जवाफ दिएका हुन् ।