माल्दिभ्स चीन निकट भएपछि भारतको अघोषित नाकाबन्दी | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

माल्दिभ्स चीन निकट भएपछि भारतको अघोषित नाकाबन्दी

एजेन्सी, ११ असार । भारतले टापु राष्ट्र माल्दिभ्समाथि अघोषित रुपमा नाकाबन्दी लगाएको छ । माल्दिभ्सको राजनीतिक नेतृत्व चीननिकट देखिएपछि भारतले कडा कदम चालेको हो । नयाँदिल्लीले माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरेको छ ।

भारतले माल्दिभ्स निर्यात हुने खाद्य पदार्थको परिमाणमा कटौती गरेको हो । भारतीय सञ्चारमाध्यमले माल्दिभ्समा चीनको बढ्दो प्रभावका कारण भारत र माल्दिभ्सबीच कुटनीतिक सम्बन्ध धरासायी बनेको बताएका छन् । भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ ।

भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ । माल्दिभ्सले मुलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ । चीनले माल्दिभ्सको पर्यटन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ । माल्दिभ्स चीन निकट भएपछि भारतले ऊमाथि अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।

भारत र माल्दिभ्सबीच सन् १९८१ मा व्यापारिक सन्धि भएको थियो । भेदभावरहित व्यापार र स्वतन्त्र परिवर्तनीय मुद्राको प्रतिबद्धतासहित दिल्लीले माल्दिभ्सलाई कुनै पनि निर्यात प्रतिबन्ध नलगाई खाद्य सामग्रीमा वार्षिक निर्यात कोटाको व्यवस्था गर्ने सन्धिको मूल मर्म छ ।

माल्दिभ्सलाई कोटा निर्धारण गर्नुका पछाडि स्वदेशी आपूर्तिलाई संरक्षण गर्न आवश्यक परे माल्दिभ्समाथि निश्चित प्रतिबन्ध लगाउन सकिने भारतको तर्क छ । सन्धिमा माल्दिभ्स सरकारले त्यसरी उपलब्ध गराएको सूचीमा भारत सरकारले अर्को वर्षका लागि डिसेम्बर अन्त्यसम्ममा विशेष खालको कोटा छुट्याइने उल्लेख छ ।

उक्त व्यवस्था आपूर्तिको उपलब्धता र माल्दिभ्स सरकारको समग्र आवश्यकतामा भर पर्ने पनि सन्धिमा उल्लेख छ । माल्दिभ्सले पछिल्लो सम्पर्कमा नयाँदिल्लीसँग उच्च कोटा माग नगरेको भारतीय अधिकारीले बताएका छन् । फेब्रुअरीमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले मुलुकमा संकटकाल घोषणा गरेपछि भारत र माल्दिभ्सबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धमा समस्या बढेको थियो ।

सुरुमा भएको वार्ताले अवस्थालाई केही सुधार बनाए पनि विकसित घटना देशको आन्तरिक मामिला भएको भन्दै यामिनले नयाँदिल्लीलाई हस्तक्षेप नगर्न कैयौं पटक आग्रह गरेका थिए । यसै महिनाको सुरुमा माल्दिभ्सका राष्ट्रपति यामिन निकट सांसदलाई सोही भूमिकामा भारत आउनबाट नयाँदिल्लीले रोक लगाएपछि दुई देशबीचको सम्बन्धमा थप समस्या उत्पन्न भएको थियो ।

माल्दिभ्सबाट प्रकाशित हुने विज्ञापनमा पनि भारतीय कामदार नचाहिएको भन्ने विवरण प्रकाशित हुन थालेका छन् । माल्दिभ्समा २५ हजारभन्दा बढी भारतीय नागरिक कार्यरत छन् । नयाँ दिल्लीको यो कदमले हिन्द महासागरमा छरिएर रहेका टापुहरूको उक्त देशमा खाद्यपदार्थको अभाव हुने त्रास उत्पन्न भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);