आफ्नै माइतीगाउँका युवा अपराधी बनेर आएपछि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं । गत वैशाखमा गोंगबुस्थित गीता ढकालको ट्राभल एजेन्सीमा एक महिला छोरासहित पुगिन्। उनी टिकट काट्न होइन, जागिर खोज्दै त्यहाँ पुगेकी थिइन्। चिनजानपछि महिलाले युवकलाई देखाउँदै भनिन्, ‘नानी यसलाई कतै जागिर लगाइदिनुपर्यो ।’ ती महिला ढकालको मावलीखलक नुवाकोट ककनीकी थिइन्। गीतालाई पनि घरमा काम गर्ने व्यक्ति चाहिएको थियो। उनले आमासँग सोधेर कामबारे टुंगो लगाउने बताइन्। आफ्नै माइतीगाउँको केटो भनेपछि पार्वतीले तिनलाई घरमा काम लगाउन खुसी भइन्।

 

माइतीगाउँको केटा भनेर माया गरेर काममा लगाएका तिनै युवक अर्थात् सुदामा लामिछानेकै कारण पार्वतीले ज्यान गुमाउनुपरेको छ। युवकको पृष्ठभूमि र आचरण थाहा नभई काममा लगाउँदा उनले ज्यान गुमाउनुपरेको हो । गत १२ साउनमा लामिछानेले ढकालको हत्या गरेका हुन्। तीन सातापछि घटनाको विवरण प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

 

जब हजुरआमा बोलिनन्
सधैँझैँ गीताका ११ वर्षीय छोरा स्कुल छुट्टी भएपछि गत १२ साउनमा घर गए। प्रायः घरको बाहिरी गेट र ढोका बन्द हुन्थ्यो। हजुरआमाले खोल्ने गरेकी थिइन्। तर, त्यो दिन ढोका खुलै थियो। घरभित्र किचेनको ढोका पनि खुलै थियो । उनी सीधै किचेनमा छिरे। भित्र हजुरआमा लडिरहेकी थिइन्। बोलाउँदा बोलिनन्। टाउको फुटेको थियो, शरीर रक्ताम्य थियो। उनले आत्तिँदै आमालाई फोन गरे । आमाको फोन नउठेपछि आफन्तलाई फोन गरी घटनाको जानकारी दिए। केहीछिनमै घटनास्थलमा प्रहरी पुग्यो। पार्वतीको मृत्यु भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले धनमाल लुटपाट गर्ने गिरोहले उनको हत्या गरेको देखिन्थ्यो। किनकि दराजमा रहेका सबैजसो सुनका गहना हराएका थिए।

 

तर, कसले गर्यो हत्या रु अनुसन्धान निकै जटिल थियो । गम्भीर किसिमको घटना भएकाले महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढायो। ढकाललाई ह्यामरले टाउकोमा हानेर हत्या गरिएको थियो । दिउँसो चोरी गर्ने गिरोहको ‘मोडस अपेरान्डी’सँग त्यो मिल्दैन थियो । किनकि उनीहरूले सुरुमा हतियार देखाएर धम्क्याउने र धम्क्याउँदा नतर्सिए मात्र आक्रमण गरेर घाइते बनाउँथे। तर, त्यहाँ त्यस्तो अवस्था थिएन । हत्या गर्ने उद्देश्यले नै पार्वतीलाई टाउकोमा ह्यामरले हानिएको थियो। जसअनुसार कुनै पेसेवर डकैतीवाला थिएनन्, चिनजानकै व्यक्तिले हत्या र लुटपाट गरेको हुनुपर्छ भन्ने प्रहरीको प्रारम्भिक अनुमान थियो। अर्कोतर्फ दिउँसो घरमा पार्वती एक्लै हुने गर्दथिन्। सो कुरा थाहा भएको व्यक्ति संलग्न हुने विश्लेषण प्रहरीको थियो।

 

सोही विश्लेषणअनुसार प्रहरीले अनुसन्धान अघि बढायो । ढकालको घरको बारेमा को हुन सक्छन् नजिकका व्यक्तिहरू त्यहीँबाट प्रहरीले अनुसन्धान अघि बढायो। सम्भावित व्यक्तिको सूचीमा सोही घरमा काम गरेर छाडेका सुदामा लामिछाने पनि थिए । प्रहरीले उनको मुभमेन्ट हेरिरहेको थियो। घटनाको केही दिन काठमाडौं बसेपछि उनी तराई गएका थिए। उनीमाथि प्रहरीको शंका थप बढ्यो । एक दिन उनी भारतसमेत गए। कपिलवस्तुमा आफन्तको घरमा गएर बसेका थिए। उनले भारतमै बस्ने योजना बनाएर भारुसमेत साटेका थिए । भारत छिर्ने तयारी गरिहेका वेला बुधबार अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्यो । सुरुमा घटनाबारे केही थाहा नभएको बताएका उनले थप सोधपुछका क्रममा सबै स्विकारेको प्रहरीले जनाएको छ।

 

यसरी भयो घटना
लामिछानेले ढकालको घरमा एक साता मात्र काम गरे । वैशाखको अन्तिम साता उनले सो घरमा काम गरेका थिए । गत १ जेठमा पासपोर्ट बनाउन जाने भन्दै एक हजार रुपैयाँ लिएर निस्किएका थिए । त्यसपछि उनी काममा फर्किएनन् । करिब दुई महिनापछि एक दिन दिउँसो फेरि गए, तर काम गर्न होइन, पैसा माग्न । पासपोर्ट बनाउन भन्दै उनले पार्वतीसँग पैसा मागेका थिए । तर, उनले आफूसँग पैसा नभएको बताइन् । लामिछानेलाई चिया खुवाएर पठाइन् । पैसा नपाएपछि उनको मनमा अपराध जन्मियो।

 

उनले ढकालको घरमा प्रशस्त गहना हुने थाहा पाएका थिए । दिउँसोको समयमा पार्वती एक्लै घरमा बस्थिन् । त्यसकारण उनको हत्या गरेर गहना लुट्ने र विदेश भाग्ने योजना बनाए । सोहीअनुसार एक साथीलाई तयार बनाए । गत १२ साउनको दिउँसो उनी त्यही योजनासहित बुढानीलकण्ठको तैलुङस्थित ढकालको घरमा पुगे। पार्वती एक्लै ढोका लगाएर बसेकी थिइन् । लामिछानेलाई देखेपछि उनले ढोका खोलिन् । चिया खान प्रस्ताव गरिन् । तर, उनीहरूले चिया अस्वीकार गरे।

 

उनीहरूको लक्ष्य त चिया होइन, गहना थियो। त्यहीबीचमा ढकाल लुगा सुकाउन छतमा गइन्। त्यसक्रममा उनीहरूले हत्या गर्ने र गहना लुट्ने योजनाबारे छलफल गरे। पार्वती छतबाट फर्किएर किचेन कोठाको कुर्सीमा बसिरहेकी थिइन्। उनीहरूले पार्वतीलाई भुइँमा लडाए र ह्यामरले टाउकोमा हानेर हत्या गरे । हत्यापछि दराजमा रहेको दुईवटा सुनको चुरा, दुईवटा सुनको बाला, दुईवटा औँठी, एउटा सिक्री, झुम्का, आइप्याड, घडीलगायतका सामान चोरी गरी भागेका थिए । त्यहाँबाट माइक्रो चढेर उनीहरू बालाजु पुगे । उनीहरूले करिब २७ तोला सुनका गहना चोरी गरेका थिए।

 

चोरीको गहना बिक्री गरेपछि लामिछाने भारत भाग्न लाग्दा पक्राउ परे भने उनका अर्का सहयोगी भने फरार रहेको अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले बताए। अभियुक्त लामिछाने बलात्कार मुद्दामा आठ वर्ष जेल बसेर दुई वर्षअघि मात्र छुटेका थिए । त्यसपछि गाडीमा सहायक चालकको रूपमा काम गर्दथे। एक अनाथालयमा बलात्कार आरोपमा उनी जेल परेका थिए।

 

‘लोभी’ सुनपसले पनि फन्दामा
सुन पसलहरूले बिलविनाको सुन किन्न पाउँदैनन् । तर, वनस्थलीस्थित दीपज्योति सुनचाँदी पसलका सञ्चालक चन्द्रकान्त ल्वागुन र नुवाकोटका कृष्णमाया श्रेष्ठ तथा किशोर श्रेष्ठले लोभमा फसेर सस्तोमा विनाबिलको गहना खरिद गरे । सोही लोभमा फस्दा उनीहरू प्रहरी हिरासतमा पुगेका छन् । लामिछानेले हत्यापछि चोरी गरेको गहना उनीहरूलाई नै बिक्री गरेका थिए । चोरी गरेको आइप्याड तथा केही गहनासमेत प्रहरीले बरामद गरेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);