काठमाडौं,१२ साउन । पछिल्लो समय बलात्कारका घटनाहरु बढ्दै आइरहेका छन् । कयौं व्यक्तिहरु प्रहरीको नियन्त्रणमा भइरहँदा अझै पनि केही मानिसहरुमा सामान्य चेतनाको कमी भएको देखिन्छ ।
आफ्नो व्यवहारले आफु र आफ्ना परिवारमाथि पर्ने असर बारे ख्याल गरेको पाइदैन् । यसै क्रममा एउटा पाका इन्जिनियरलाई पनि बलात्कारको अभियोगमा प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरी आफैले केही दिन अघि पोखरेलले जबरजस्ती गरेको भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
भिडियो बाहिरिएसँगै मुटुमा समस्या भएको भन्दै पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएर बसेका थिए । सोही अस्पतालबाटै प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ । पोखरेलमाथि गत ५ साउनमा रामेछाप घर भएकी २३ वर्षीया युवतीले बलात्कारको उजुरी दिएकी थिइन्।




