काठमाडौं, ८ असार । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले सरकारले मुलुकलाई समृद्ध बनाउने स्पष्ट खाका ल्याउन नसकेको आरोप लगाएका छन् ।
नेता जोशीले मुलुकलाई समृद्ध बनाउने अभियानमा निजी क्षेत्रलाई विश्वासमा लिन पनि सरकारलाई सुझाव दिए । शुक्रबार काठमाडौंमा आयोजित युवा उद्यमीहरुको भेलालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहभागिताविना मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने अवस्था नरहेको स्मरण गराए ।
काँग्रेस नेता जोशीले निजी क्षेत्रको सहभागितामा मात्रै विश्वका विभिन्न मुलुकहरुले आर्थिक प्रगति गरेको दृष्टान्त पेश गर्दै सरकारले पनि सोही अनुसारको योजना बनाउनुपर्नेमा जोड दिए । उनले मुलुकको समृद्धिका लागि सरकारलाई आवश्यक सुझाव दिने प्रतिवद्धता व्यक्त गरे ।