प्रधानमन्त्रीको 'समृद्ध नेपाल र सुखी नेपाली' नारा चुनौतीपूर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा चुनौतीपूर्ण

pm kp oli

काठमाडौं, ५ असार । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सारेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको यो नारालाई सार्थकता दिन भने निकै चुनौती देखिएको छ । खासगरी विहान बेलुका भान्सामा प्रयोग हुने खाद्य वस्तुका लागि नै विदेशमाथिको परनिर्भरता बढेका कारण समृद्ध नेपाल र सुखी नेपालीको नारा चुनौतीपूर्ण देखिएको हो ।

निर्वाचनबाट दुई तिहाइ बहुमतको सरकार गठन भएसँगै राजनीतिक संक्रमण अन्त्य भइ मुलुक स्थिरताको बाटोमा अगाडि बढेको छ । राजनीतिक तनावको वातावरण नभएकाले आम जनताले आफ्नो दैनिकी सहज हुने आशा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समृद्ध नेपाल र सुखी नेपालीको नारा अगाडि सारी अब कुनै नेपालीलाई पनि रोग, भोक र चिसोले मर्न नदिने बताएका छन् । तर, प्रधानमन्त्री ओलीले हरेक सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्ति पूरा हुन सजिलो छैन ।

मुलुकको अहिलेको वास्तविकता निकै फरक छ । नेपालीको भान्सा विदेशीमा निर्भर हुने अवस्था बनेको छ । तरकारीदेखि खाद्यान्नका लागि विदेशमाथिको परनिर्भरता बढेको छ ।  विषादीले भरिएको तरकारी डिमार्टमेन्ट स्टोरबाट महंगो मूल्य तिरेर खाने आदत लागेको छ । त्यतिमात्र होइन डिर्पाटमेन्टल स्टोरको यो आदतमा सान र मान मापन गर्ने क्रम पनि बढेको छ ।

नेपालीमा घटृ वा आफ्नो आँखा अगाडि पिसेको पिठोलाई अविश्वास गर्ने तर भारतीय योगगुरु रामदेवको नामबाट आएको प्याकेटको पिठो मन पराउने क्रम बढेको छ । आफ्ना करेसा र खेती बाँझो बसेको विषयलाई बेवास्ता गर्ने तथा स्वदेशमा उत्पादित वस्तु प्रयोग गर्दा इज्जत घटेको ठान्ने प्रवृत्ति मौलाउँदा त्यसको गम्भिर असर मुलुकको अर्थतन्त्रमा परेको छ ।

स्वदेशी जुत्ता लगाउँदा आफ्नो हैसियत कमजोर भएको र विदेशी जुत्ता लगाउँदा इज्जत बढेको सम्झिने प्रवृत्तिले व्यापार घाटा चुलिएको छ । भारत र चीनबाट आयातित सामानले सहजरुपमा बजार पाउने तर नेपाली वस्तुको उत्पादनमा दिनुहँ कमी आउने र उत्पादन भएको वस्तु पनि गोदाममा थन्क्याउनुपर्ने अवस्थाका कारण मुलुकले १० महिनामा ९ खर्ब १९ अर्ब १८ करोड रुपयाँको व्यापार घाटा व्योहोर्नुपरेको छ ।

स्वदेशी उत्पादन बढाउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुको साटो सरकारका मन्त्रीमाथि सस्तो प्रचारबाजीका लागि अनुगमनका नाममा व्यावसायीलाई आतंकित पार्ने काम गरेको आरोप लाग्न थालेको छ । किसानहरु मूल्य नपाएको भन्दै दुध सडकमा बगाइरहेका छन् तर पाउडर दुधको आयात दिनहुँ बढिरहेको छ । घिउ उद्योगीहरु पतञ्जलीको घिउका कारण पुर्पुरोमा हात लगाएर वस्न वाध्य छन् । किसानले मूल्य नपाउने, विचौलिया मोटाउने अनि उपभोक्ता महङ्गो मूल्य तिर्न वाध्य हुनुपर्ने अहिलेको यथार्थ हो ।

यो अवस्थामा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सपना बाँडेको रुपमा लिंदा अतिशयोक्ति हुने छैन । यसर्थ सरकार र सरकारका मन्त्रीहरुका कदम आन्तरिक उत्पादन वृद्धि तथा उत्पादनका लागि बजारको विकासतर्फ केन्द्रीत हुनु नै अहिलेको आवश्यकता हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);