आमाछोरी जल्दाजल्दै उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

आमाछोरी जल्दाजल्दै उद्धार

amachori-burnt

वीरगन्ज, २ असार ।  पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरमा एक महिला र उनकी तीन महिने छोरीलाई जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय सन्जयकुमार साहकी पत्नी सन्जु देवी र उनकी तीन महिनाकी छोरीलाई शुक्रबार बिहान आफ्नै घरबाट आगोले जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका हुन् ।

उद्धार गरिएका आमाछोरी दुवैको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि आमाछोरी दुवैलाई शुक्रबारै काठमाडौं लगिएको छ ।

उनीहरूको काठमाडौं कीर्तिपुरमा रहेको बर्निङ सेन्टरमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

लिम्बुका अनुसार सन्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको सामान्य घाउ देखिनुका साथै उनको छाती, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाँटीमा ब्लेडले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था बढी गम्भीर रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए ।

घाइते सन्जु देवीले घरायसी विवादमा ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् ।

प्रारम्भिक बयानमा उनले ससुराले आफू र छोरीलाई कुटपिट गर्दै जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको भनेर आरोप लगाएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।