साइवर अपराधमा महिला पीडित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

साइवर अपराधमा महिला पीडित

cyber-crime

काठमाडौं, २ असार । सामाजिक सञ्जालको प्रयोगसँगै किशोरी पीडित हुने गरेका छन् । प्रविधिको प्रयोगसँगै हुने अपराधमा पनि लैङ्गिकरुपमा महिला नै बढी पीडित देखिएका छन् ।

एकजना १९ वर्षको केटाले १७ वर्षीय केटीलाई थाहै नदिई सिन्दुर लगाएर फोटो खिचेछ । केटीले आफ्नो प्रस्ताव स्वीकार नगरेपछि केटीकै नाम र फोटो राखेर फेसबुक खोली केटीका आफन्त र साथीलाई फेसबुकमा साथी बनाएर बिहे गरेको फोटो वालमा पोष्ट गरिदियो । त्यसकै कारणले केटी र केटीको परिवारलाई ठूलो समस्या पर्‍यो । सामजिकरूपमा नभएको बिहे भयो भनेर फैलियो ।

कतै केही पोष्ट र म्यासेज भएकै कारण कसैको जीवन बर्बादसम्म भएको छ । कति युवा यसकै कारण डिप्रेसनदेखि आत्महत्यासम्म पुगेका छन् ।
महानगरीय प्रहरी परिसर साइवर अपराध सेलका प्रहरी निरीक्षक प्रदिन ताम्राकारले विशेषगरी विद्युतीय( साइबर) अपराधमा किशोरीहरु बढी पीडित हुने गरेको उल्लेख गर्दै भने,“पीडितमध्ये ८० प्रतिशत महिला अझ त्यसमा पनि किशोरी बढी पीडित हुने गरेका छन् ।”

एउटाको टाउकोमा अर्काको जिउ जोडिदिने अझ नग्न शरीरमा टाउको जोडेर युवतीलाई ब्ल्याकमेल गर्ने गरिन्छ । यसो गरेर उनीहरूलाई नग्न तस्बिर खिचेर पठाउन बाध्य पार्ने र सक्कली नग्न तस्बिर पाएपछि झन् बढी दुःख दिने काम भइरहेको चर्चा गर्दै ताम्राकारले भन्नुभयो,“टिनएजरलाई दुःख दिने प्रवृत्ति बढी देखिएको छ ।” कतिपयलाई नग्नरुपमा भिडियो कल गर्न लगाएर रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गरिदिन्छु भन्दै पटक पटक पैसा असुल्ने काम पनि हुने गरेको छ ।

बिदेशबाट पनि यस्ता क्रियाकलाप हुने गरेको छन् । बङ्गलादेशी र फिलिपिन्स नागरिकहरुले नेपाली केटाहरूलाई दुःख दिएका धेरै घटना भएको उल्लेख गर्दै अधिकांश ब्ल्याकमेल पैसासँग जोडिएका बताउनुभयो । कसैले यसरी सतायो भने उसले जे भन्छ त्यही मान्नुभन्दा पनि समयमै प्रहरीलाई खबर गर्न सकेमा आफू थप तनावमा पर्नुपर्दैन र अपराधीले सजाय पाउन सक्छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);