सरकारद्वारा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई एडीबीबाट फिर्ता बोलाउने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारद्वारा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई एडीबीबाट फिर्ता बोलाउने निर्णय

office of pm

काठमाडौं, १ असार । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई एसियाली विकास बैंक (एडीबी)बाट फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को विहिबार बेलुका बसेको बैठकले सुवेदीलाई एडीबीबाट फिर्ता बोलाउने निर्णय गरेको हो । सुवेदी आकर्षक तलब भत्ताका कारण आफ्नो मुख्य सचिव पद अतिरिक्त समूहमा राख्न लगाइ एडीबीको वैकल्पिक निर्देशक पदमा काम गर्न मनिला गएका थिए । २०७२ सालको साउन २० गते मुख्यसचिव बनेका सुवेदी पदावधि नसकिंदै मासिक करिब २० लाख रुपैयाँ तलबको लोभमा सहसचिवले नियुक्ति पाउने पदका लागि २०७४ सालको साउन १ गते एडीबीको मुख्यालय गएका थिए ।

एडीबीको वैकल्पिक निर्देशकमा नियुक्तिपछि सुवेदीले मुख्यसचिवबाट राजीनामा दिएका थिए । मन्त्रिपरिषद्ले सुवेदीलाई फिर्ता बोलाइ अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई एडीबीको वैकल्पिक निर्देशकमा काम गर्न पठाउने निर्णय गरेको छ । बैठकले चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगसँग मानव विकास सहायतासम्बन्धी तथा चीनकै द नेशनल डेभलपमेण्ट एण्ड रिफर्म कमिसनसँग उत्पादन क्षमता विकासका लागि लगानी र सहयोगसम्बन्धी समझदारी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट तथा राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ । यस्तै, बैठकले कार्यसञ्चालन नियमावली पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३० गते अपराह्न ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);