काठमाडौं, २७ जेठ । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्झिन नहुने बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग अध्यक्ष दाहालले अहिले विकास र समृद्धि मुख्य एजेन्डा भएकाले कार्यकारी राष्ट्रपतिको विषयमा अल्झिन नहुने बताएका हुन् । संसदमा वाम गठबन्धनको दुई तिहाइ बहुमत रहेकाले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको तयारी थालिएको समचार आएपछि अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपतिको विषय अहिलेको प्राथमिकतामा नरहेको बताउनु भएको हो ।
आगामी निर्वाचनको समयमा भने कार्यकारी राष्ट्रपतिको विषयमा छलफल हुन सक्ने उनको भनाइ छ । संघीयता नयाँ अभ्यास भएकोले विस्तार सबै विषय मिलेर जाने बताउँदै अध्यक्ष दाहालले संघीयतालाई कसैले असफल बनाउन नसक्ने दाबी गरे । प्रदेश २ को सरकार परिवर्तन गर्ने योजना नरहेको भन्दै अध्यक्ष दाहालले सरकार गिराउने र बनाउने खेलमा लाग्न नहुने तर्क गरे ।




