काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा आज निर्णयार्थ पेश गरिने भएको छ ।
प्रतिनिधि सभाको आज अपरान्ह १ बजे बस्ने बैठकमा नियमावलीको मस्यौदा निर्णयार्थ पेश गरिने भएको हो । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने/नगर्ने विषयमा दलहरुबीचको विवादले मस्यौदा यसअघि निर्णयार्थ पेश हुन सकेको थिएन । सभामुख कृष्णबहादुर महराले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने गरी नियमावलीको मस्यौदा सर्वसम्मतिले पारित गराउने तयारी गरेका छन् ।
मस्यौदा सर्वसम्मतिले पारित गराउने तयारीस्वरुप सभामुख महराले नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेकपाका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ र नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणसँग अलग अलगरुपमा छलफल गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनपहिले नेकपा र नेपाली कांग्रेसका शीर्ष नेतालाई बोलाएर विवाद गर्नुको साटो सहमतिका आधारमा अघि बढ्न सुझाव दिएका कारण पनि सभामुख महराले नियमावलीको मस्यौदा सर्वसम्मतिले पारित गराउने तयारी गरेका हुन् ।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गरिनुपर्ने भन्दै नेकपाका केही सांसदले नियमावलीको मस्यौदा प्रतिवेदनमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । तर नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरमले भने सांसदलाई निलम्बन गर्न नहुने र मस्यौदा हुबहु पारित गरिनुपर्ने बताउँदै आएका छन् ।