राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भएपनि कारबाही गर्ने गृहमन्त्रीको अठाेट
काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिएका छन् ।
समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कार्वाही अभियान संचालन गरेका गृहमन्त्री थापाले राज्यको ढुकुटी दुरुपयोग गर्ने ठेकेदार ठूलै नेता भएपनि नछाडने चेतावनी दिए ।
समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधि
घरधनी, सांसद वा ठूलै नेता भएपनि समयमै कार्य सम्पन्न नगर्ने ठेकेदार अपराधि हुने र उनीहरुलाई राज्यले कार्वाही गरेरै छाडने गृहमन्त्री थापाको भनाई छ ।
गृहमन्त्री थापाले सरकारले राज्यको ढुकुटी दुरुपयोग गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने ठेकेदार पुष्पकमल दाहालकै घरधनी भएपनि नछाडने दृढता पनि व्यक्त गरे ।
प्रचण्डका घरधनीलाई कार्वाही गर्ने चेतावनी
बुधबार गृह मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले सडकको काम अधुरै छाडेका दाहालका घरधनी शारदाप्रसाद अधिकारीलाई कार्वाही गर्नु हुन्छ भनि राखिएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सरकार कानुन उलंघन गर्ने जो कोहीलाई कार्वाही गर्न बाध्य हुने स्पष्ट पारे ।
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न भूरा र मझौला माछा समातिएको उल्लेख गर्दै अव ठूलै माछा पर्ने संम्भावना रहेको बताए । उनले सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रुपमा चित्रण गर्दै अव ठूलै माछा पनि जालमा पर्नसक्ने अवस्था रहेको बताए ।
अनुसन्धानका लागि गठित समितिको म्याद थप गर्ने
गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणका लिएर कार्वाही गर्ने कामलाई निरन्तरता दिइने स्पष्ट पारे । उनले सुन तस्करी सम्बन्धि अनुसन्धानका लागि गठित समितिको म्याद थप गर्ने योजनामा आफु रहेको बताए ।
गृहमन्त्री थापाले सरकारले समृद्धि र विकासका लागि बाधक तस्करी, अपराधजन्य गतिविधिलाई निष्तेज पार्न विशेष अभियान नै संचालन गरेको स्पष्ट पारे । उनले आफूले विकास र समृद्धिका लागि अनुकूल वातावरण बनाउन सबै प्रदेशमा सुरक्षा गोष्ठी समेत संचालन गरेको बताए । गृहमन्त्री थापाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणको कामलाई पनि सरकारले उच्च प्राथमिकता दिएको बताए ।