करोडौं रेमिट्यान्स विदेशमै रोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

करोडौं रेमिट्यान्स विदेशमै रोकियो

remittance

काठमाडौंं, २२ जेठ । मलेसियाबाट विप्रेषण ल्याउँदा बीचमा खडा गरेको एजेन्टलाई नियम विपरीत अधिकार दिएका कारण हिमालयन बैंक अप्ठेरोमा परेको छ। नेपाली मजदुरले विप्रेषणमा पठाएको करोडौं रकम मलेसियामै रोकिएको छ।

बैंकले मलेसियामा विप्रेषणको कारोबार गर्ने गरी म्याक्स मनी नामक एजेन्सीलाई अधिकार दिएको थियो। नियम विपरीत म्याक्सलाई २० लाख अमेरिकी डलर चलाउन दिने बैंकको निर्णयका कारण समयमा पैसा नेपाल नआउने गरेको छ, जसले गर्दा बैंकले ग्राहकलाई समयमा पैसा भुक्तानी गर्दैन। भुक्तानी गर्नु पर्दा बैंकमा वचत रहेको पैसाबाट विप्रेषणको पैसा भुक्तानी गर्दै आएको छ।

बैंकले विप्रेषणको काम गर्न हिमाल रेमिट सञ्चालनमा ल्याएको छ। म्याक्स हिमाल रेमिटको एजेन्सी हो। हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले म्याक्सले डलरको समस्या देखाएर समयमा पैसा नपठाएको बताए। उनले भने, ‘अहिले पनि ३० करोड रूपैयाँ म्याक्सबाट आउन बाँकी छ। मलेसियाबाट मात्र होइन, दुबईलगायतका देशबाट समेत विप्रेषण नेपाल आउन ढिला भएको छ।’

नेपाली कामदारले नेपाल पठाएको पैसा म्याक्सले बीचमा चलाउन पाउने सम्झौता गरेकाले बैंकले त्यसमार्फत् कुनै सुरक्षण भने लिएको छैन। अहिले पनि म्याक्सले सम्झौताको भन्दा बढी पैसा आफूसँगै राखिरहेको छ। प्रमुख कार्यकारी अधिकृत राणा भने म्याक्ससँग पैसा लिन सकिने दाबी गर्छन्। भन्छन्, ‘केही समय ढिला हुँदैमा बैंक अप्ठेरोमा पर्दैन। उनीहरूले पैसा पठाउनेमा हामी ढुक्क छौं।’

राष्ट्र बैंकको निर्देशिकाअनुसार विदेशबाट पठाएको विप्रेषण उक्त समयको विनिमय दरमा नेपाल आएर बैंक खातामा जम्मा भएपछि मात्र पैसा पाउने व्यक्तिलाई भुक्तान गर्नुपर्ने व्यवस्था छ। हिमालयन बैंकले राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था विपरीत म्याक्सलाई पैसा चलाउने अधिकार दिएको हो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बैंक खातामा विप्रेषण आएको पैसा जम्मा नहुँदासम्म भुक्तानी दिन नपाइने बताए।

हिमालयन बैंकको कुल एक अर्ब हिसाब मिलान हुन बाँकी रहेको रकममध्ये ५० करोड म्याक्स मनीको भएको बुझिएको छ। उक्त एजेन्टले लामो सयमसम्म मलेसियामा संकलन भएको रकम बैंकमा नपठाउँदा हिसाब मिलान हुन सकिरहेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणमा हिमालय बैंकले १८ करोड रूपैयाँ हिसाब मिलान गर्नुपर्ने देखिएको थियो। लामो समयदेखि एजेन्टले सबै हिसाब मिलाउँछु भने पनि हालसम्म मिलाउनुको साटो उल्टै यस्तो रकम थपिँदै गएको छ। हिसाब मिलान हुन बाँकी रहेको रकम म्याक्सको मात्रै ५० करोड पुगेको छ।

गत आवको वित्तीय विवरणमै हिमालय बैंकको सो रेमिट्यान्समार्फत् भित्रिने रकममध्ये १८ करोड हिसाब मिलान हुन नसकेको देखिए पनि नियमनकारी निकाय राष्ट्र बैंक यस विषयमा अनभिज्ञ छ। यस विषयमा आफूले बुझ्ने राष्ट्र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बताए। ‘राष्ट्र बैंकले उसको वित्तीय विवरण हेर्दा हिसाब मिलान नभएको देखिएमा हामी बैंकलाई प्रोभिजन गर्न लगाउँछौं’, उनले भने ‘काम गर्दा जोखिम हुन्छ। त्यस्तो देखियो भने कानुनअनुसार उसलाई कारवाही गर्न राष्ट्र बैंक तयार छ।’आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);