फर्जी हेलिकप्टर उद्धार छानबिन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फर्जी हेलिकप्टर उद्धार छानबिन हुने

helicopter

काठमाडौँ, २२ जेठ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ ।

विगत केही वर्षयता पर्यटन व्यवसायीहरूले यस्तै फर्जी धन्दा सञ्चालन गर्ने क्रम नरोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अनुसन्धान गर्न ५ सदस्यीय कार्यसमिति बनाएको हो ।

यसअघि यस विषयमा चासो राख्दै केही पर्यटन व्यवसायीले नेपालकै बद्नाम भएको जनाउँदै कारबाहीका लागि तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई पनि गुनासो राखेका थिए। उनले यस विषयमा चासो नै राखेनन्। सहसचिव उपाध्यायको समितिमा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक मनोज न्यौपाने, पर्यटन विभागका महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सुभाष झा र उपसचिव प्रकाश शर्मा ढकाल छन्।

प्राय सगरमाथा क्षेत्रसहित उच्च हिमाली भूभागको पदयात्रामा यस्तो विकृति थियो। ‘ढिलै भए पनि सरकारले राम्रो काम गरेको छ। व्यवसायीलाई आतंकित बनाउने होइन अब पद्धतिभित्र सबै ट्रेकिङ व्यवसायीलाई समेट्ने प्रणालीको विकास हुनुपर्छ,’ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले कान्तिपुरसँग भने। टानअन्तर्गत १५ सय १८ वटा सदस्य ट्रेकिङ एजेन्सी छन्। यीमध्ये केहीले पछिल्ला वर्ष अस्वस्थ प्रतिस्पर्धा गरेपछि यो क्षेत्रको नेपाल मात्रै होइन विदेशमा पनि बद्नाम हुँदै आएको छ।

‘१ हजार ५ सय डलरको भ्रमण प्याकेजलाई ६/७ सय डलरमा बिक्री गर्ने केही व्यवसायीहरूले पर्यटकलाई फर्जी बिरामी बनाई हेलिकप्टर उद्धारमार्फत कमाउ धन्दा चलाएका थिए। यसरी हेलिकप्टरबाट उद्धार गर्दा पर्यटकले बिमा गरेको कम्पनीबाट कम्तीमा २ हजारदेखि २० हजार डलरसम्मको बिल बनाई बिमा दाबी लिन्थे। ‘केही ट्रेकिङ एजेन्सीले उच्च भूभागमा पुगेको पर्यटकलाई लेक लागेको बहाना वा ती पर्यटकले थाहा नपाउने गरी खानामा सोडा वा अखाद्य वस्तु मिसाएर पखला चलाउने र काठमाडौंबाट हेलिकप्टर झिकाई बिमा दाबी गर्ने चलन छ,’ एक हेलिकप्टरका सञ्चालकले भने।

उनका अनुसार ठगी गर्ने उद्देश्य भएका एजेन्सीहरूले काठमाडौंमा बिरामीको उपचार गराउने छुट्टै अस्पताल छन्। त्यहाँ सबै सेटिङ मिलाइएको हुन्छ। ‘मलाई बिल बढाएर बनाइदिनुहोस्। सबै बिमाबाट पाइन्छ भनेर दबाब आइरहन्छ,’ ती सञ्चालकले भने। टानका अध्यक्ष दाहालले यस्तो बेथिति धेरै वर्षदेखि चल्दै आएको तर ४ वर्षयता अत्यधिक रहेको बताए। उनका अनुसार नेपाली पर्यटन व्यवसायीहरूको ठगी धन्दा विदेशी बिमा कम्पनीहरूले थाहा पाएपछि अहिले नेपाल घुम्न आउने पर्यटकहरूको अधिकांश बिमा कम्पनीले बिमा गर्न इन्कार गर्न थालेका छन्।

‘नेपालमा घुम्न जाने भनेपछि धेरैले बिमा गर्न मान्दैनन्। मानिहाले पनि यहाँ आउने पर्यटकले तिर्नुपर्ने प्रिमियम ४० प्रतिशतसम्म अन्य मुलुकको दाँजोमा बढाइएको छ,’ अध्यक्ष दाहालले भने। पर्यटन मन्त्रालयका सहसचिव उपाध्यायलाई कारबाहीको सिफारिससहित असार १५ गतेभित्र प्रतिवेदन बुझाउन भनिएको छ। मन्त्रालयले यस्ता गैरकानुनी क्रियाकलापले नेपालको पदयात्रा र पर्वतारोहण क्षेत्रको विकास र विस्तारमै असर गरेको सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ। आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);