एजेन्सी, २१ जेठ । पाउरोटीमा दिँदै आएको सहुलियत कटौंति गरेकै कारण जोर्डनका प्रधानमन्त्री हानी अल मुल्कीले राजिनामा दिएका छन् । मूल्यबद्धि र सहुलियत कटौंतिविरुद्ध उत्रिएका जनताको आन्दोलनमा राजकुमार हुसेनको समेत साथ मिलेपछि मुल्की प्रधानमन्त्री पद छाड्न बाध्य भएका हुन् ।
राजिनामा दिँदै गर्दा मुल्किले राष्ट्रहितका लागि आफूले थालेको सुधार अभियानमा राजा र प्रजाको साथ नमिलेको प्रतिक्रिया दिएका छन् ।
जोर्डनका राजा र प्रधानमन्त्रीबीच महंगी नियन्त्रणका विषयमा चलेको द्वन्द्व र चार दिन लामो सडक प्रर्दशनपछि प्रधानमन्त्री अल मूल्कीले राजिनामा दिएका हुन् । सन् २०१६मा सत्ताको नेतृत्व सम्हालेका मुल्कीलाई जोर्डनमा आर्थिक सुधारतर्फ ध्यान नदिएको आरोप लागेको छ ।
जोर्डन लामो समयदेखि आर्थिक संकट झेल्दै आएको छ । जोर्डनको अर्थव्यवस्था अहिले पनि विदेशी सहयोगमा निर्भर रहेको छ । जोर्डनका जनता महंगी र सरकारले बढाएको आयकरविरुद्ध सडक संघर्षमा छन् ।
झन् सोमबार त राजकुमार हुसेन समेत अमानमा पुगी प्रधानमन्त्री कार्यालयबाहिर पाँच हजार मानिसहरुसँग उभिएर जनताको आवाजमा रोक लगाउन नहुने तर्क गरेपछि प्रधानमन्त्रीमाथि दबाब बढेको थियो ।
तेलको मूल्य बृद्धि गर्नेे सरकारको निर्णयमा राजा अब्दुल्लाले रोक लगाएपछि प्रदर्शनकारीहरु हौसिएका थिए । वर्षको आरम्भमैं सरकारले विक्रिकरमा बृद्धि र पाउरोटीमा दिँदै आएको सहुलियत कटौंति गरेपछि जनतामा असन्तुष्टि चुलिएको थियो ।
प्रधानमन्त्री पद छाड्नुअघि मुल्किले देशमा कर्जाको बोझ घटाउन आफूले विक्रिकर बढाउनुपरेको र अन्य सहुलियतमा समेत कटौंति गर्नुपरेको दाबी गरेका छन् । छिमेकी सिरिया र इराकमा जारी द्वन्द्वका कारण जोर्डनको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको छ ।
०००