एक दशकदेखि नदीको पानी पिउँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

एक दशकदेखि नदीको पानी पिउँदै

water

कञ्चनपुर, १९ जेठ । खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ ।

रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी पिउन बाध्य छन् । “नदीको पानी अशुद्ध छ भनेर जान्दाजान्दै पनि बाध्यताले पिउनु परेको छ”, छोटीदेवी रानाले बताए , “थोरै गहिराइमा ह्याण्ड पम्प गाड्दा पानी आउँदैन । गहिरो गाड्नका लागि आर्थिक अवस्थाले भ्याउँदैन ।”

नदीको पानी पिउँदा पखाला, आउँलगायत पानीजन्य रोग हुने गरेको छ । विभिन्न निकायमा सुरक्षित पानीको व्यवस्था गरिदिन माग गर्दै आए पनि हालसम्म नभएको सुम्ली रानाले बताउनुभयो । कमैयाबाट मुक्त भएपछि पुनःस्थापन गराइएका परिवार बस्तीमा बस्दै आएका छन् । बस्तीका सबै परिवारसँग साँझ बिहानको खाना जुटाउनका लागि मजदूरी एक मात्रै सहाराका रुपमा रहेको छ ।

“मजदूरीको पैसाले परिवारको खाना जुटाउन निकै गाह्रो छ” गोरे खत्रीले बताए , “ह्याण्ड पम्प गाड्नका लागि कम्तीमा पनि रु ५० हजार बढी खर्च लाग्ने हुन्छ, त्यो जुटाउन बस्तीका बासिन्दाको आर्थिक हैसियतले धान्दैन ।”

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।