गोपाल भट्टराई
दाङ, १५ जेठ । दाङको तुलसीपुर कारागारमा रहेका कैदी बन्दीहरुलाई बिहान बेलुकाको छाक टार्न कठिन भएको छ । सरकारले रकम उपलब्ध नगराउँदा कैदीबन्दीलाई छाक टार्न कठिन भएको हो ।
सरकारले प्रति कैदीबन्दीका लागि खानको लागि दैनिक ४५ रुपैयाँ उपलब्ध गराउदै आएको छ । तर, गत फागुणदेखि सरकारले रकम उपलब्ध नगराउँदा कैदी बन्दीहरुलाई बिहान बेलुकाको छाक टार्न कठिन भएको हो । कारागारले प्रति ब्यक्ति ७ सय ग्राम चामल खाद्य संस्थान अञ्चल कार्यालयबाट उधारोमा ल्याउने गरेको छ । तेल, नुन, तरकारी, मरमसला खरिदका तीन महिनासम्म रकम उपलब्ध नहुँदा कैदीबन्दीलाई कष्ठकर भएको छ । उदारो दिनेहरुले पनि पैसा माग्न थालेपछि थप समस्या भएको कारागार प्रशासनको भनाइ छ ।
अहिले सो कारागारमा ३ सय ३१ कैदी बन्दी छन् । कैदी बन्दी धेरै भएकाले खानपानको व्यवास्थापनमा कठिन भएको कैदीबन्दीहरुको गुनासो छ । दाङमा २ कारगार शाखा मध्ये घोराही र तुलसीपुरमा रहेको छ । कैदीबन्दीहरुले तत्काल रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।




