काठमाडौं, १४ जेठ । हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेको बालकृष्ण ढुंगेललाई आममाफी नदिन माग गर्दै द्वन्द्वपीडितले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंंगेललाई आममाफी दिने तयारी गरेको चर्चा भइरहेका बेला द्वन्द्वपीडितले त्यसो नगर्न खबरदारी गर्दै सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रर्दशन गरेका हुन् । सर्वोच्च अदालतको आदेश विपरित सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका ढुंगेललाई आम माफी दिए न्यायको खोजीमा आफूहरु अन्तर्राष्ट्रिय अदालत जाने उनीहरुको भनाइ छ ।
द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन । द्वन्द्वपीडितहरुले ढुंगेललाई आममाफी दिन कुनै पनि हालतमा नमिल्ने दावी गर्दै आईतबार पनि काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका थिए ।