अछाम, ११ जेठ । अछामको साँफेबगर विमानस्थलमा १३ वर्षपछि विमान पुगेको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि १३ वर्षपछि पहिलो पटक समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो ।
समिट एयरको जहाज बिहान साढे १० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो ।
यस बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ ।
विमानस्थलको ५ सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित ११ करोड ५० लाख रुपैयाँको लागतमा कालोपत्रे भएको हो ।