८ फागुनदेखि इलामबाट काठमाडाैं व्यावसायिक हवाई उडान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

८ फागुनदेखि इलामबाट काठमाडाैं व्यावसायिक हवाई उडान हुने

इलाम । व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको हो ।

फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायी उडान सुरु हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौँ-इलाम-काठमाडौँ उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलायन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलायन्सबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुननन्द-सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ । 

विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघिसमेत परीक्षण उडान गरिएको थियो । २१ जेठ २०७५ मा तारा एयरको ट्विनअटर जहाजले परीक्षण उडान गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);