मदन विश्वकर्मा
बाजुरा, १० जेठ । बाजुराको त्रिवेणी नगरपालिकाका प्रमुख र कर्मचरीहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । राजनीतिक आस्था नमिलेको भन्दै नगर प्रमुख रामसिंह रावलले हाजिर समेत गर्न नदिएको कर्मचारीहरुले आरोप लगाएका छन् । नगर प्रमुख र कर्मचरीहरुबीचको विवादले नगरपालिकाको कामकाज ठप्प भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकाका कर्मचारीहरुले नगर प्रमुख रामसिंह रावलले आफुहरुलाई अपमान गरेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका नगर प्रमुख रावलले राजनीतिक आस्था नमिलेको भन्दै हाजिर समेत गर्न नदिएको कर्मचारीहरुको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर अयडीलाई नगर प्रमुख रावलले आफुहरुलाई अपमान गरेको गुनासो गरे ।
नगर प्रमुख रावलले आफु निकटका कर्मचारी ल्याउन १० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई बिना कारण हटाएका छन् ।आफू निकटका कर्मचारी भर्ति गर्न उनि केन्द्रसम्म धाएको कर्मचारीहरुको भनाइ छ ।
नगर प्रमुखले भने आस्था र विचारका आधारमा कोही कर्मचारीहरुलाई विभेद नगरेको दावी गरेका छन् । प्राविधिक तहको कर्मचारी र अहेव भएकाले काम गर्न असजिलो भएकाले मन्त्रालयलाई नै खबर गरेर हाजिर गर्न नदिएको उनको भनाइ छ । प्रशासकीय अधिकृत अयडीले नगरपालिकाको खाता रोक्का गरेर काम प्रभावित गरेको नगर प्रमुख रावलले आरोप लगाए । नगर प्रमुख र कर्मचारीको विवादले विकासका काममा बाधा पुगेको छ ।
नगर प्रमुख र कर्मचारीको विवादले सेवाग्राही मारमा परेका छन् । विकास र समृद्धिको नारा लगाएका जनप्रतिनिधिहरुको पछिल्लो गतिविधिले जनतालाई निराश बनाएको छ ।