काठमाडाैं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । अाज नयाँ वानेश्वरस्थित संघीय संसद भवनलाई ध्वजापतकाले सिंगारिएको छ ।
फूलका गमलाहरुलाई मुख्य प्रवेशद्धारमा सजाएर राखिएको छ । प्रवेशद्धारमा राखिएका विभिन्न आकारमा सिंगारिएका पुष्प गुच्छा सहितका जल घडाहरुले संघीय संसद भवनलाई थप आकर्षक बनाएको छ ।
संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा सोमबार आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भए लगत्तै प्रतिनिधि सभा र राष्ट्रियसभाको छुट्टाछुटै बैठक बसी राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्ने कार्यतालिका तय गरिएको छ ।
आज अपरान्ह प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि ३ दिन छलफल गर्ने कार्यसूचि समेत तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्दैछ ।