बर्डफ्लु भएका कुखुरा नष्ट गर्न अवरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बर्डफ्लु भएका कुखुरा नष्ट गर्न अवरोध

चितवन, ५ जेठ । चितवनको खैरहनीका कृषकहरुले बर्डफ्लु भएका कुखुरा नष्ट गर्न अवरोध गरेका छन् । ठुला फार्म जोगाएर साना फार्मका कुखुरा नष्ट गर्न थालेको भन्दै कृषकहरुले अवरोध गरेका हुन् । बर्डफ्लू भएको पुष्टि भएपछि सो क्षेत्रलाई केन्द्रबाट गएको प्रविधिक टोलिले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

चितवनको खैरहनी नरगपालिका ९ सुर्तनीका राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्रमा बर्डफ्लू भएको पुष्टि भएपछि प्राविधिक टोली कुखुरा नष्ट गर्न पुगेको थियो । तर ठुला फार्म जोगाएर साना फार्मका कुखुरा नष्ट गर्न थालेको भन्दै कृषकहरुले अवरोध गरेका छन् ।

बर्डफ्लू प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा नष्ट गर्ने क्रममा कृषकहरुले अवरोध गरेका हुन् ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्कोतर्फ २ सय मिटरसम्म मात्रै रहेको कारण कृषकहरुले असन्तुष्टि जनाएको बताए ।

नष्ट गरिएको कुखुराको मूल्यांकन गरेर क्षतिपूर्ति वापत कृषकले ७५ प्रतिशत पाउने छन् । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा कृषकहरले कुखुरा नष्ट गर्न अवरोध गरेका हुन् ।

मन्त्रिस्तरको निर्णयपछि शुक्रबार फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस नष्ट गर्ने काम सुरु गरिएको हो । बर्डफ्लुको महामारी फैलन नदिन कृषक र सरकारी पक्षबीच सहमति गरि बर्डफ्लुको नियन्त्रण गर्नु आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);