भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

jhanda

काठमाडौं, ३ जेठ । भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए ।

जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।

नेपालको झन्डा उनीहरूले कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई जानकारी छैन । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र जानकी मन्दिरले संयुक्त रूपमा लिएका थिए । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मन्दिर परिसरमा भारतीय दूतावासले राखेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भारतीय दूतावासले त्यहाँ कार्यक्रम राखेको सुनेको थिएँ, तर कार्यक्रमका लागि ल्याउने सामान कहाँबाट ल्याइयो र झन्डा कसरी राखियो मलाई थाहा छैन ।’

प्रदेश सरकारका प्रमुख सचिव हरि फुल्यालले सो कार्यक्रममा प्रदेश सरकारका कर्मचारीको उपस्थित नभएको बताए । उनले भने, ‘प्रदेशका कर्मचारी सो कार्यक्रममा सहभागी थिएनन् । झन्डा कसले कसरी राख्यो जानकारी भएन ।’कार्यक्रममा उद्घोषण भन्ने प्ररराष्ट्र मन्त्रालयका सहायक प्रोटोकल अधिकृत रामबाबु ढकालले गरेका थिए । उनी मञ्चमा पटक–पटक ओहोरदोहोर गरेका थिए । कार्यक्रमस्थलमा भारतीय दूतावासका कर्मचारीको भने घुइँचो थियो ।

उता संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले झन्डा बिगारेको विषयमा प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिका प्रशासकीय अधिकृतलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको छ ।

यसरी भयो लापरबाही
जानकी मन्दिरमा रामायण सर्किटको शिलान्यास हुने भनिए पनि प्रदेश सरकार र जानकी मन्दिर व्यवस्थापनलाई कार्यक्रमबारे जानकारी दिइएको थिएन । पछि सो कार्यक्रमको व्यवस्थापन भारतीय दूतावासले गरेको थियो । मञ्च पनि उसैले बनायो ।
सञ्चारकर्मीको टोली जानकी मन्दिर पुग्दा दूतावासका कर्मचारी हतारहतार मञ्च बनाइरहेका थिए । नेपाली अधिकारी त्यहाँ उपस्थित भए पनि जिम्मेवारी लिएनन्, न त दूतावासका कर्मचारीलाई आवश्यक निर्देशन नै दिन सके ।

प्रमुख सचिवलाई पनि थिएन पास
प्रदेशका प्रमुख सचिव हरि फुँयाललाई पनि जानकी मन्दिर प्रवेशको पास थिएन । नीलो र रातो दुई प्रकारको पासको व्यवस्था थियो । नीलो सञ्चारकर्मीलाई र रातो व्यवस्थापनमा खटिएकाका लागि थियो ।

सचिव फुँयाल भने, ‘प्रदेश सरकारका कुनै पनि कर्मचारीलाई पास थिएन, पास नै नदिएपछि त्यहाँ जाने कुरै भएन, फेरि त्यतिवेला म बाह्रबिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएँ ।’

प्रदेश सरकारले टेरेन परराष्ट्रको सुझाब
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले दिएको सुझाब अटेर गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागीलगायतले जनकपुर पुगेरै प्रदेश सरकारका अधिकारीलाई कूटनीतिक आचारसंहिता, कूटनीति सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्थाबारे स्मरण गराएका थिए । उनीहरूले मुख्यमन्त्रीको सम्बोधन र कार्यक्रम सञ्चालनसम्बन्धी विषय परराष्ट्रले तय गरेअनुसार हुनुपर्ने भने पनि अटेर गर्दा ‘कूटनीतिक दुर्घटना’ भएको परराष्ट्रका उच्च अधिकारीको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले उपसचिव रामबाबु ढकाललाई प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकासँग समन्वयको जिम्मा दिएको थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउतसहितका पदाधिकारीलाई मन्त्री ज्ञवाली र सचिव बैरागीले पटक–पटक एउटै ढाँचाको कार्यक्रम हुनुपर्ने बताएका थिए । कार्यक्रमबारे परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई जानकारी दिँदै आएको थियो ।

‘परराष्ट्रको सुझाब अटेर गर्नु गलत थियो, अनुभव वा जानकारीको कमी होइन, प्रदेश सरकारले अटेर गरेको हो,’ प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई यसबारे सम्झाउनुभएको छ ।’ प्रधानमन्त्री ओलीले मंगलबार मधेसका सांसदसँग कुराकानीका क्रममा पनि मुख्यमन्त्रीले गल्ती गरेको टिप्पणी गरेका थिए ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले अभिनन्दन कार्यक्रम सञ्चालन प्रदेशका मन्त्रीबाट हुनु नहुने सुझाब पनि दिएको थियो । तर, प्रदेशका भौतिक योजनामन्त्री जितेन्द्र सोनलले कार्यक्रम उद्घोषण गरेका थिए । ‘हामीले पटकपटक सचेत गराएका हौँ, सरकारी पदधारण गरेका व्यक्तिले संविधान र प्रचलित नियमअनुसार गर्नुपर्छ भनेका हौँ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘कार्यक्रम सभ्य र भव्य होस् । परराष्ट्र नीतिको ख्याल होस् भनेर प्रधानमन्त्रीको तहबाट पनि पटक–पटक सन्देश पुर्याइएको हो ।’

जनकपुर उपमहानगरले भने परराष्ट्रले तयार गरेकै पत्र दियो
जनकपुर उपमहानगरपालिकाले भने नागरिक अभिनन्दनका लागि परराष्ट्र मन्त्रालयले नै तयार गरेको पत्र दिएको थियो । ‘हामीले परराष्ट्रमै मैथिली अनुवादक पठाएर मन्त्रालयले अंग्रेजीमा तयार गरेको अभिनन्दन पत्रलाई उल्था गरेर मोदीजीलाई अभिनन्दन गर्यौँ,’ जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले टेलिफोनबाट नयाँ पत्रिकासँग भने, ‘हामीले गर्ने कार्यक्रममा राष्ट्रको भावना प्रतिविम्बित हुनुपर्छ भन्नेमा म सचेत थिएँ, हामीले समन्वयमा सबै काम गर्यौँ ।’ परराष्ट्र मन्त्रालयबाट अभिनन्दनपत्र २६ चैतमा जनकपुर लगिएको थियो । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);