बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी, पुरातत्व विभागको निर्देशनसमेत अटेरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी, पुरातत्व विभागको निर्देशनसमेत अटेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न कंक्रिटको संरचना बनाएको छ । डबली छेउमै कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा यसरी कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाउन पाइँदैन । तर, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ठाडो निर्देशनमा झन्डा राख्नसंरचना निर्माण भइरहेको हो । 

उक्त क्षेत्रमा राष्ट्रिय झन्डा राख्न पर्याप्त ठाउँसमेत नरहेको भन्दै सम्पदाविद्हरूले विरोध जनाइरहेका छन् । तर, ठेकेदार कम्पनीले राति राति संरचना निर्माण थालेको छ । 

बसन्तपुर डबली भत्काएर कंक्रिटको संरचना नबनाउन पुरातत्व विभागले निर्देशन दिएको छ । तर, महानगरले पुरातत्व विभागको पत्रलाई बेवास्ता गर्दै हनुमानढोका डबली भत्काएर झन्डा राख्न संचरना बनाएको हो । आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनका लागि महानगरले डबली मासेर ट्यांकी आकारका संरचना बनाएको हो । 

पुरातत्व विभागसँग समन्वय नगरी डबली भत्काएर महानगरले मनपरी ढंगबाट संरचना निर्माण गरेको भन्दै उक्त काम तत्काल रोक्न गत ६ फागुनमा महानगरलाई पत्र पठाएको थियो । तर, विभागको पत्रलाई बेवास्ता गर्दै महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर डबलीमा कंक्रिटको संरचना निर्माण गरेको हो । त्यसपछि विभागले तत्काल काम रोक्न अर्को पत्र पठायो । दुईवटा पत्र पाइसकेको महानगरले त्यसको बेवास्ता गर्दै संरचना तयार पारेको हो । 

अहिले सम्पदाविद्हरू तथा स्थानीयले विरोध जनाइरहेका छन् । विरोधपछि महानगरले राति राति काम थालेको छ । सोमबार राति काम गर्न आएका कामदारलाई स्थानीयले फिर्ता पठाइदिएका थिए । 

सम्पदा बचाउ अभियान्ता गणपतिलाल श्रेष्ठले महानगरले कति लागतमा निर्माण गर्न लागेको हो ? कुन ठेकेदार कम्पनीमार्फत निर्माण गर्न लागेको भनेरसमेत स्पष्ट पार्न नसकेको बताए । अहिलेको ठेकेदारले काठमाडौं महानगरका सम्पदा विभागका पूर्वप्रमुख रामबहादुर थापाको सल्लाहमा यस्तो संरचना निर्माण भइरहेको जानकारी दिएको बताए ।

‘सम्पदा भत्काएर कंक्रिट प्रयोग गरी आठवटा नेपालको झन्डा राख्नुले हाम्रो राष्ट्रिय झन्डाको गरिमा बढ्छ ? महानगरले सम्पदाको मर्म कहिले बुझ्ने ?’ उनले प्रश्न गरे । 

मेयर शाक्यको निर्देशनमा बनिरहेको उक्त संरचनाको अवलोकन गर्न उपप्रमुख हरिप्रभा खड्गी मंगलबार बिहान बसन्तपुर डबली पुगेकी छन् । डबलीमा बनेको कंक्रिट संरचना भत्काउनुपर्ने बताइन् । महानगरको बोर्ड बैठकबाट समेत पास नगरी झन्डा राख्न लागिएको भन्दै उनले भनिन्, ‘मेयरसाप एक्लैले निर्णय गर्न सक्नुहुन्न । यसमा महानगरको मात्र सरोकार हुन्न । सबैसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);