फूलमाया आले
काठमाडौं, १ जेठ । नेपालमा वार्षिक कम्तीमा १ सय २० जनाको चट्याङका कारण मृत्यु हुने गरेको विपत व्यवस्थापन महाशाखाले जनाएको छ । चट्याङ प्राकृतिक विपद भएकाले यसलाई रोक्न सकिँदैन ।
तर, आकासमा बिजुली चम्केको देख्नेबित्तिकै विद्युतीय उपकरण बन्द गर्ने, रुखको आसपास नबस्ने तथा घरको छतमा तामाको सामान राख्नाले चट्याङबाट केहीहदसम्म बच्न सकिने विज्ञहरुको भनाइ छ ।
चट्याङ एक किसिमको बिजुलीको धार हो । बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासि बढ्दा आयातन पनि बढ्ने हुँदा विस्फोटनको आवाज निस्कन्छ । बोलीचालीको भाषामा उक्त आवाजलाई मेघ गर्जन भनिन्छ ।
बाक्लो स्वरुपमा रहेको क्युमलोनिम्बस नामक बादल निर्माण हुने बेला चट्याङ देखापर्ने विज्ञहरुको भनाइ छ । बादलभित्र हावा तलमाथि भइरहने हुँदा बादलमा रहेका पानीका थोपा, बरफ, असिना र हिउँबीच आपसमा घर्षण हुन्छ ।
उक्त घर्षणले नै बादलभित्र पोजेटिभ र नेगेटिभ चार्ज उत्पन्न गर्छ जसलाई चट्याङ पर्नुको मुख्य कारण मानिन्छ । यसरी उत्पन्न भएको करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुने हुँदा मानिस वा सजीव प्राणी यसको नजिक भएमा तत्कालै मृत्यु हुने मौसविद राजुधर प्रधानाङ्ग बताउँछन् ।
विशेष गरी गर्मी मौसममा बढी चट्याङ पर्ने विज्ञको भनाइ छ । अहिले प्रि–मनसुन सक्रिय भएकाले यस समयमा चट्याङ पर्ने क्रम निकै बढी हुन्छ । चट्याङका कारण बर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।
नेपालमा मात्र बार्षिक कम्तिमा १ सय २० जना मानिसको चट्याङका कारण मृत्यु हुनेगरेको विपत व्यवस्थापन महाशाखाको तथ्याङकमा उल्लेख छ । यस वर्षको वैशाखमा मात्र चट्ङका कारण १८ जना मानिसको मृत्यु भइसकेको छ भने ४९ जना घाइते भएका छन् ।
वैज्ञानिकका अनुसार विश्वमा कुनै पनि क्षणमा दैनिक २ हजार पटक चट्याङ पर्छ । एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ । जब आकाशमा छिटोछिटो बिजुली चम्कने र पटक–पटक मेघ गर्जनको आवाज सुनिन्छ त्यसबेला चट्याङ पर्ने सम्भाना बढी हुन्छ ।
यस्तो बेला हुरीबतास चल्यो र पानी प-यो भने क्षतिको खतरा अझै बढी हुने विज्ञहरुको भनाइ छ । नेपालको पूर्वी पहाडी र मध्य क्षेत्रमा बढी चट्याङ पर्नेे गरेको विज्ञहरुको भनाइ छ ।