तोकियो यार्चागुम्बुको कोटा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

तोकियो यार्चागुम्बुको कोटा

Yarsa

काठमाडौं, ३१ बैशाख । सरकारले प्रदेश ७ मा पर्ने अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गतका पाटनमा यार्चागुम्बु संकलनका लागि कोटा निर्धारण गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्चागुम्बुको दिगो संकलनसम्बन्धी दुईवर्षे कार्ययोजना बनाएर कोटा तोकेको हो ।

विभागका व्यवस्थापन अधिकृत तथा सूचना अधिकारी नारायण रूपाखेतीका अनुसार सन् २०१८ र २०१९ मा अपिनाम्पा संरक्षण क्षेत्रमा यार्चा संकलनका लागि कार्ययोजना बनाइएको छ । कार्ययोजनामा अपिनाम्पामा पर्ने व्यास र अपि गाउँपालिका (साबिकका सातवटा गाविस) का पाटनमा संकलन गर्न सकिने यार्चागुम्बुको कोटा तोकिएको छ । राप्ला, घुसा, खण्डेश्वरी, व्यास, सिटौला र गुल्जार क्षेत्रमा धेरै र गुणस्तरीय यार्चा पाइन्छ । दार्चुलाको यार्चा ठूलो हुने र मूल्य पनि बढी पाइने भएकाले संकलक र व्यापारीले विशेष चासो दिने गरेका छन् । उक्त क्षेत्रमा गत वर्ष ९४ वटा प्लटमा ८ हजार ४ सय ७९ सर्वसाधारण यार्चा संकलन गर्न पुगेका थिए ।

३२ हजार ९ हेक्टरमा फैलिएका दुई गाउँपालिकाका पाटनबाट वार्षिक करिब ९ सय १२ किलो यार्चा संकलन गर्न सकिने अध्ययनले देखाए पनि ९० प्रतिशत अर्थात् ८ सय २० किलो मात्र संकलन गर्न दिइने सूचना अधिकारी रूपाखेतीले बताए । जथाभावी यार्चा संकलन गर्न दिँदा प्राकृतिक उत्पादनमै समस्या आउने र जैविक विविधता संरक्षणमा पनि समस्या पर्ने भएकाले कोटा निर्धारण गरिएको हो ।

कार्ययोजनामा संकलन गर्न जाने व्यक्ति र यार्चाको संख्या पनि तोकिएको छ । ६ वटै क्षेत्रबाट २५ लाख ६७ हजार ३ सय ९५ वटा मात्र यार्चा संकलन गर्न सकिनेछ भने त्यति परिमाण संकलन गर्न १७ हजार १ सय १४ जनालाई प्रवेश अनुमति दिइनेछ । हिमाली निकुञ्ज नियमावली २०३६ मा मध्यवर्ती क्षेत्रका बासिन्दालाई ५ सय, संरक्षण क्षेत्र भएको जिल्लाकालाई २ हजार र अन्य जिल्लाका संकलकलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

यति शुल्क बुझाएपछि एक महिनासम्म सर्वसाधारणले तोकिएको स्थानमा यार्चा संकलन गर्न पाउनेछन् । रूपाखेतीका अनुसार राप्लामा १२१ किलोका लागि २ हजार ५ सय २८ जना, घुसामा ३ सय ८ किलोका लागि ६ हजार ४ सय ४३, खण्डेश्वरीमा ८३ किलोका लागि १ हजार ७ सय २८, व्यासमा २ सय १६ किलोका लागि ४ हजार ५ सय ८, सिटौलामा ४८ किलोका लागि १ हजार ८ र गुल्जारमा ४३ किलोका लागि ८ सय ९९ जना व्यक्तिलाई प्रवेश अनुमति दिइनेछ । जेठ दोस्रो सातादेखि असार मसान्तसम्म यार्चा संकलन हुने गरेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);