पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद

bises-adalat

काठमाडौं, ३१ बैशाख । विशेष अदालतले भारतबाट डिजेल र पेट्रोल ल्याउने क्रममा बाटैमा चोरेर बेचेको भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैद र जनही ६ लाख ७० हजार नौ सय १० रुपैयाँ जरिबाना फैसला सुनाएको छ। न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पेट्रोलियम पदार्थ चोरी भएको ठहर गर्दै निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबाढी डिपोका प्रमुख उपनिर्देशक नागेन्द्र कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार रावतलाई यस्तो सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि भारतबाट ल्याउँदा बाटैमा पेट्रोल, डिजेल चोरेर मिलेमतोमा बेच्ने निगमका कर्मचारी, व्यापारी, ट्यांकर चालकसहित ९८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। अदालतले निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैदसहित जरिबाना, चारजना व्यापारीलाई तीन महिनादेखि एक वर्ष कैद र १० जना ट्यांकर चालकलाई १५ दिन कैद ठहर गरेको छ। बाँकी सबैले सफाइ पाएका छन्।

अख्तियारले सात करोड ७७ लाख रुपैयाँ बिगो जरिबाना माग दाबी गर्दै ९८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। विशेषले निगमका तीन कर्मचारीलाई मात्र बिगो जरिबाना ठहर गरेको हो। अदालतले व्यापारी र चालक गरी १४ जनालाई कैद सजाय सुनाएको छ। पेट्रोलियम पदार्थ भारतको बैतालपुरबाट रुपन्देहीस्थित भलबाढी डिपोमा ल्याउने क्रममा बीच बाटोबाटै चोर्दै गरेको अवस्थामा प्रहरीले रंगेहात फेला पारेपछि अनुसन्धान गरी अख्तियारले मुद्दा दर्ता गरेको थियो।

तोकिएभन्दा बढी तेल ढुवानी गरेर बीच बाटोबाटै लुकाएर बेच्ने गरेको उजुरी परेपछि छानबिन गर्दा मिलेमतोमा पम्प बनाएर चोरी गर्ने गरेको भेटिएको थियो। चार वर्षअघि रुपन्देही प्रहरीले छानबिन गर्दा सेटिङमा तेलको तस्करी भएको खुलेको थियो । अख्तियारले २०७१ साल भदौ ३१ मा मुद्दा दर्ता गरेको थियो।

अदालतले पेट्रोलियम पदार्थका व्यापारी सुरेशप्रसाद उमर, विक्की भनिने विकास क्षेत्रीलाई प्रतिव्यक्ति एक वर्ष कैद सजाय ठहर गरेको छ। त्यसैगरी पेट्रोलियम पदार्थको कारोबारी रहेका विनोद उप्रेती र रामचन्द्र अधिकारीलाई तीन महिना कैद सजाय फैसला गरेको हो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);