आत्मीयता बढाएँ : मोदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आत्मीयता बढाएँ : मोदी

modi aatmitaya

काठमाडौँ, ३० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक र नेपाली जनतासँग आत्मीयता बढाउन सफल भएको बताएका छन् । उनी दुईदिने नेपाल भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार मुक्तिनाथमा परम्परागत बाजा घेलिङ बजाएर स्वागत गर्दै सात झुमा । मुक्तिनाथमा डेढ घण्टा बिताएका मोदीले करिब २० मिनेट पूजाअर्चना गरेका थिए ।  जनकपुरबाट शुक्रबार यात्रा थालेका उनको यो भ्रमण धार्मिक, सांस्कृतिक र राजनीतिक पृष्ठभूमिमा केन्द्रित रह्यो । उनी स्वदेश फर्कंदा भारतको कर्नाटक राज्यका जनता प्रदेश सरकार चुन्न मतदान गरिरहेका थिए । निर्वाचनको मौन अवधिमा उनको भ्रमण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीलाई औपचारिक बिदाइ गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं विशेष पूजाअर्चना गरेका थिए । सबै स्थानमा उनले आफ्नो अनुभवसमेत सुनाएका थिए । भ्रमण समापनमा १६ बुँदे नेपाल–भारत संयुक्त वक्तव्य जारी भएको छ । नयाँ दुईपक्षीय सम्झौता नभए पनि वक्तव्यमा यसअघि भएका समझदारीलाई आगामी असोजसम्म अघि बढाइसक्ने र कतिपयको नतिजासमेत देखिने गरी काम अघि बढाउने प्रतिबद्धता गरिएको छ ।

‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो । प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायीरह्यो,’ उनले स्वदेश फर्कने क्रममा ट्विट गरेका छन् । विकास परियोजनामा भारतले नेपालको हितमा सहयोग गर्ने उल्लेख गर्दै ट्विटमा उनले थपेका छन्, ‘यस भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार प्रकट गर्छु ।’

परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको दुईदिने नेपाल भ्रमण सबै दृष्टिकोणले सफल, ऐतिहासिक र सम्झनलायक भएको प्रतिक्रिया दिएका छन् । ‘उहाँको भ्रमण सम्बन्धको एक महत्त्वपूर्ण मोड सावित भएको छ,’ ज्ञवालीले भने । उनले भ्रमणका क्रममा सम्बन्ध फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका पक्षमा नतिजा देखिने गरी काम गर्ने सहमति भएको उल्लेख गरेका छन् । मन्त्री ज्ञवालीले रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी असोजसम्म काम अघि बढाइसक्ने समयसीमा निर्धारण हुने बताए ।

मोदीको भ्रमण पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण भएको ज्ञवालीले बताए । भ्रमण सम्पन्न हुनुअघि जारी १६ बुँदे संयुक्त वक्तव्यमा भनिएको छ, ‘मित्रतामा गहिराइ बढ्नुका साथै समझदारी उच्च हुनेछ । चैतमा भएको नयाँदिल्ली समझदारीलाई कार्यान्वयनको तहमा लैजान प्रभावकारी उपायहरू अवलम्बन गरिने सहमति भएको छ ।’ पुराना सम्झौता प्रभावकारी रूपमा अघि बढाउने पनि सहमति भएको छ । दुई देशबीचको निकट र बहुआयामिक सम्बन्धको समीक्षा गर्दै विभिन्न क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने पनि वक्तव्यमा उल्लेख छ ।

नेपालको व्यापार घाटा कम गर्न भारतले आफ्नातर्फबाट सहकार्य गर्ने पनि वक्तव्यमा उल्लेख छ । सन्धिलाई सुधार गर्ने, भारतीय बजारमा नेपाली उत्पादनको पहुँचलाई थप प्राथमिकता दिने र समग्र द्विपक्षीय व्यापार बढाउने विषयमा भएको सहमतिले नेपाल–भारत सम्बन्ध थप अन्तक्र्रियात्मक र व्यावहारिक बन्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ ।

नेपालमा निर्माण हुने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउने विषयमा समेत छलफल अघि बढाउने समझदारी दुई देशबीच भएको छ । नेपाली भूभागमा सिँचाइ, सधैं वर्षाको समयमा देखापर्ने बाढीको समस्या समाधानमा समेत संयुक्त टोलीले अनुगमन गर्दै समाधान गर्ने सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ । क्षेत्रीय तथा उपक्षेत्रीय संगठनको महत्त्वमा जोड दिँदै सार्क, बिमस्टेक र बीबीआईएनलाई अघि बढाउने सहमति पनि दुई देशबीच भएको छ ।

काठमाडौं रहँदा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुका साथै दुई देशका प्रतिनिधिमण्डलबीच समेत छलफल भएको थियो । उनले यसबाहेक सबै पूर्वप्रधानमन्त्रीसँग संयुक्त भेटवार्ता गरेका थिए । राजनीतिक दलका नेताहरूलाई छुट्टाछुट्टै भेट्नुका साथै दलगत नेतासँग संयुक्त भेट पनि गरेका थिए । यस पटक उनले आम नेपालीसँग सडकमा ओर्लिएर हात मिलाउँदै सद्भाव साट्न नपाए पनि होटल हयातमा उपस्थित पाहुनासँग भने समूह–समूहमा तस्बिर खिचाए । मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रूपमा तेस्रो पटक नेपाल आएका उनलाई स्वदेश फर्कनुअघि राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका तर्फबाट अभिनन्दन गरिएको थियो ।

लुम्बिनी जान फेरि आउँछु मोदी
मोदीले आफू लुम्बिनी भ्रमणका लागि पुन नेपाल आउने बताएका छन् । काठमाडौं महानगरपालिकाले नगरवासीका तर्फबाट शनिबार अपराह्न अभिनन्दन गरेपछि उनले बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि उपयुक्त समयमा पुन नेपाल आउने बताएका हुन् । आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केबल महत्त्वपूर्ण तीर्थस्थल नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला रहेको मोदीले बताए । उनले काठमाडौंलाई विश्वकै अनौठो सहर भन्दै देवभूमिका रूपमा चित्रण गरे । यहाँका मन्दिर, जंगल र प्राकृतिक सौन्दर्यको उनले प्रशंसा गरे । ‘धौलागिरि, अन्नपूर्ण, सगरमाथा र कञ्चनजंगा देखिने यस्तो सहर विश्वमा कहाँ छ ’ मोदीले काठमाडौंको तारिफ गरे ।

‘विकास र समृद्धिका लागि भारत नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार छ,’ मोदीले भने । रेल, सडक, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइनजस्ता कार्य अघि बढिसकेको भन्दै उनले भने, ‘भारत शेर्पाका रूपमा काम गर्न तयार छ ।’ उनले पर्यटन नेपालको प्रमुख आयस्रोत भएको उल्लेख गर्दै नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले गरेको सहयोगको बयानसमेत गरे । नेपालले एकै वर्ष तीन तहको निर्वाचन गरेर समृद्धिको दिशामा अघि बढेको भन्दै यसका लागि नेपालीलाई धन्यवाद पनि दिए । कसैलाई दुस्ख नदिने भारतको नीति रहेको मोदीले उल्लेख गरे ।

मोदीलाई काठमाडौंको चाबी
प्रधानमन्त्री मोदीलाई काठमाडौंको ढोका सधैं खुला छ भन्ने सन्देशसहित उनलाई महानगरले कलात्मक चाबी (साँचो) हस्तान्तरण गरेको छ । मेयर विद्यासुन्दर शाक्यले साँचोसहित बुद्धको ५० किलोको मूर्ति र मयूर झ्याल पनि उपहार दिए । प्रदेश ३ का मुख्यमन्त्री, संघीय मन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा मोदीको अभिनन्दन गरिएको थियो । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);