काठमाडौं, २९ वैशाख । २ दिने नेपालको राजकीय भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फिर्ता भएका छन् । मोदी शुक्रबार भारतबाट जनकपुरधाम आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा विशेष पुजा गरेका थिए । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन समेत गरिएको थियो ।
जनकपुरको कार्यक्रम सकेर मोदी शुक्रबार काठमाडौं आएका थिए । मोदी काठमाडौं आएलगत्तै नेपाल सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । त्यसपछि मोदी राजनीतिक भेटमा व्यस्त भएका थिए ।
मोदीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपती नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका थिए । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच शुक्रबार विशेष भेट भएको थियो । दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन समेत गरेका थिए ।
शनिबार विहान मोदी मुक्तिनाथ पुगेर पुजाआजा गरेका थिए । मुक्तिनाथको पुजाआजा सकेर मोदी काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै मोदीले पशुपतिनाथको मन्दिरमा पुगेर विशेष पुजाआजा गरेका थिए । पुजाआजा सकिएपछि मोदीले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए ।
भेटवार्ता पश्चात मोदीलाई भृकुटीमण्डपमा रहेको सभागृहमा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो । नागरिक अभिनन्दन पश्चात मोदीले सम्बोधन गरेका थिए । अभिनन्दनको कार्यक्रम सकिएसँगै मोदी त्रिभुवन विमानस्थल पुगी स्वदेश फिर्ता भएका छन् ।
विशुद्ध धार्मिक र सास्कृति भ्रमण भनिएको मोदिको यसपटकको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुराउने अपेक्षा गरिएको छ ।