'मोदीले ओलीको प्रशंसा गर्दा त्यसबाट ओलीलाई राजनीतिक लाभ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘मोदीले ओलीको प्रशंसा गर्दा त्यसबाट ओलीलाई राजनीतिक लाभ’

काठमाडौं, २८ वैशाख । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ७ मध्ये ६ प्रदेशमा राम्रो नतिजा ल्याएको एमालेले प्रदेश २ मा भने राम्रो मत पाएन । खासगरी संविधान संशोधनको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानले मधेसमा एमालेको लोकप्रियता खस्किएको थियो । तर, आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनै मधेसी जनताको माझमा उभिएर ओलीको प्रशंसा गरेका छन् ।

२०७१ सालमा संविधान जारी भएपछि मधेसमा आगो बल्यो । असमावेशी संविधान भन्दै मधेस केन्द्रित दलले आन्दोलन गर्न थाले । त्यसमा भारतले पनि साथ दियो । त्यसैको परिणाम थियो, १ सय ३५ दिने नाकाबन्दी ।

एमालेबाहेकका अरु दल संविधान संशोधन गर्न तयार भएपनि एमालेले मानेन । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संशोधन मुद्दा संसदमा पुगेपनि सफल हुन सकेन ।

त्यतिमात्रै होइन, ओलीले मधेस केन्द्रित दललाई प्रहार गरेको बचनवाणले मधेसी जनता रिसाए । त्यसैले ६ वटा प्रदेशमा उत्साहजनक मत पाएको एमालेले प्रदेश नम्बर २ मा राम्रो मत पाउन सकेन ।

अझै रिसाइरहेका मधेसी जनतालाई रिझाउन ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सघाएका छन् । त्यो पनि प्रदेश २ कै जनताको माझमा बसेर । जनकपुरको बाह्रविघा मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहमा भारतीय प्रधानमन्त्री मोदीले ओलीको पटक–पटक प्रशंसा गरे । उनँले ओलीलाई सच्चा विकासका चिन्तकसमेत भनेका छन् ।

भारतमा आफूसँग भएको भेटमा ओलीले समृद्ध नेपाल सुखी नेपाल भन्ने योजना सुनाएको र उक्त योजना आफूलाई अत्यन्तै मन परेको मोदीको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले लोकतन्त्रलाई मजबुद पार्दै नेपाल समृद्धिको अभियानमा लागेकाले त्यसमा आफ्नो पूर्ण सहयोग रहने बताए । उनले एक वर्षमा तीन तहको निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई बधाई पनि दिए ।

जनकपुर र आसपासको विकासका लागि १ सय करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेपनि मोदीले केन्द्र र प्रदेश सरकारको समन्वयमा उक्त रकम खर्च हुने विश्वास व्यक्त गरे ।

मोदीको आगमनमा निकै प्रफुल्लित बनेका प्रदेश २ का जनतामाझ मोदीले ओलीको प्रशंसा गर्दा त्यसबाट ओलीलाई राजनीतिक लाभ भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);