काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा बालबालिकाको प्रयोग गरिएको छ । ती कलिला बालबालिकाहरुको हातमा नेपाल–भारतको राष्ट्रिय झण्डा थमाइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । मोदीको स्वागतका लागि विमानस्थलको गेट बाहिर विद्यालय पोषाकमा सय भन्दा बढी संख्यामा बालबालिका थिए ।
उनीहरुलाई करिव १ बजे देखि नै नेपाल र भारतको झण्डा बोकाएर झण्डै ४ घण्टा उभ्याइएको छ । कानुनमा बालबालिकालाई प्रदर्शन, सभा समारोहमा प्रयोग गर्न नपाइने उल्लेख छ ।
तर, राजधानीकै एक सामुदायिक विद्यालयमा पढिरहेका बालबालिकालाई सरकारले पुर्व योजना अनुरुप नै यसरी प्रयोग गरेको छ । विद्यालयमा पढाइ भइरहेको समयमा पढाइ छुटाएर बालबालिकालाई यसरी स्वागतमा प्रयोग गर्नु गैरकानुनी काम भएको बालअधिकारकर्मीले बताएका छन् ।
स्वागतमा बसेका बाहेक कसैलाई पनि सडकमा पाइला टेक्न दिइएको थिएन । पहिलो पटक मोदी नेपाल आउँदा फुटपाथमा मोदीसँग हात मिलाउनसमेत पाएका सर्वसाधरण यस पटक गल्ली गल्लीमा बन्धक बनाइए ।
राजधानी अवतरणसँगै नेपाली सेनाले हवाइ गस्ती समेत गरेको थियो । मोदीको कारगेट चल्ने रुटहरुमा पर्ने घरको छतमा समेत मानिसलाई बस्न दिइएको थिएन । संचारकर्मीलाई फोटो लिन फुटपाथसम्म पनि रोक लगाइयो ।
३ः३० बजे विमानस्थलबाट बाहिरिएका मोदीका लागि सिनामंगल, गौशाला, चाबहिल, चुच्चेपाटी क्षेत्रको सडक करिव २० मिनेट पूर्ण रुपमा सुनसान थियो । त्यतिबेलासम्म ती कलिला बालबालिका हातमा झण्डा बोकेर सडक पेटीमा उभिएका थिए ।




