काठमाडौं, २१ वैशाख । गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
देशभर यातायात ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न भनेर मन्त्री थापाले निर्देशन जारी गरेका हुन् । आवश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवा यातायात क्षेत्रमा हड्ताल गर्ने व्यवसायीलाई पक्राउ गरि मुद्दा चलाउन गृहमन्त्री थापाले निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले अत्यावश्यक सेवा ऐन २०१४ अन्तर्गत यातायात सेवामा हड्ताल गरेअनुसार हुने कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ । सरकारले वैशाख ११ गते सूचना जारी गरी आवश्यक सेवा ऐन २०१४ मा भएको व्यवस्था सार्वजनिक यातायातसहित विभिन्न ८ सेवा क्षेत्रमा हड्ताल निषेध गरेका थियो ।
यसैबीच सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै प्रहरीले केही व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मन्त्री थापाको निर्देशनपछि प्रहरीले यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलसहित दर्जनौँ व्यवसायीलाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।