जागिरको दुई वर्षमै करोडौं सम्पत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जागिरको दुई वर्षमै करोडौं सम्पत्ति

dhakal

काठमाडौं, २० बैशाख । वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गर्ने एक लेखा अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। सामान्य आर्थिक अवस्था भएको परिवारका लेखा अधिकृत रविनचन्द्र ढकालको खातामा सेवा प्रवेशको दुई वर्षमै करोडौं रकम देखिएपछि उनीमाथि छानबिन सुरु भएको हो।

कटारी नगरपालिकामा कार्यरत लेखा अधिकृत ढकालले भ्रष्टाचार गरेको सूचना पाएपछि अख्तियारले वैशाख १२ गते ज्ञानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको छ। उनी सिन्धुलीका हुन्। आर्थिक वर्ष ०७४/७५ मा सामाजिक सुरक्षालगायत अन्य शीर्षकमा विनियोजित बजेटमा ठूलो घोटाला भएको आशंका अख्तियारको छ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीका अनुसार कटारीमा सरुवा भएको डेढ महिनाबीचमा नगरपालिकाको चार करोड रुपैयाँ अधिकृत ढकालको निजी खातामा देखिएको छ। आफ्ना साढुभाइ गोविन्द पोखरेलबाट आफ्नी पत्नीलाई बकस दिएको भनिएको काठमाडौं ज्ञानेश्वरको बहुमूल्य जग्गाबारे पनि शंका उत्पन्न भएपछि छानबिन सुरु भएको छ। ढकालको मंसिरमा मात्र विवाह भएको थियो। कोष तथा लेखानियन्त्रक कार्यालयमार्फत कटारी नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा निकासा भएको रकम ढकालले व्यक्तिगत खाताहरूमा स्थानान्तरण गरेको भेटिएको हो।

कटारीमा मात्र नभई विगतमा उनी कार्यरत रहेको इलामको माई नगरपालिकामा समेत एकै प्रकृतिको आर्थिक हिनामिना गरेको भेटिएको मैनालीले बताए। ‘माई नगरपालिकामा पनि कटारीकै जस्तो भ्रष्टाचार भएको आशंका छ। प्रारम्भिक रूपमा हेर्दा आफूलाई गैरकानुनी हानि पु¥याउने बदनियतले कार्य गरेको देखिन्छ’, मैनालीले भने, ‘कटारी र माई नगरपालिका दुवै ठाउँको फाइल झिकाएर छानबिन भइरहेको छ। यस्तो कार्यले भ्रष्टाचारको प्रवृत्ति कुन रूपमा छ भनेर देखाउँछ।’

उनका अनुसार प्रारम्भिक रूपमा सामाजिक सुरक्षा भत्तामा ठूलो भ्रष्टाचार देखिएको छ। सरकारी खाताबाट ठाडै आफ्नो खातामा रकम सारिएको छ। आफन्तका नाममा रकम हालेर पुनः ‘ट्रान्सफर’ गरिएको आशंकासमेत छ। ढकालले ०७२ सालमा मात्र सेवा प्रवेश गरेका हुन्। सेवाको सुरुमा सोलुखुम्बुको जिल्ला जनस्वास्थ्य कार्यालयमा ११ महिना काम गरेपछि ढकाल इलामको माई नगरपालिकामा सरुवा भएका थिए। अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट पनि ढकालको जिम्माका सबै फाइल खिचेको मैनालीले बताए।

अख्तियारबाट कटारी नगरपालिकाका नाममा विनियोजित एक करोड ९८ लाख ७५ हजार रुपैयाँ फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको भेटिएको छ। यस्तै, चैत २६ गते पनि त्यति नै रकम ढकालको निजी खातामा बढाएका छन्। उनी एक वर्ष नौ महिना माई नगरपालिकामा बसेका थिए। ‘त्यहाँ पनि झन्डै दुई करोड रुपैयाँ यसरी नै निजी खातामा राखेको जानकारीमा आएको छ। सबै फाइल र कागजात झिकाएर गहिरो छानबिन हुँदै छ’, मैनालीले भने।

भ्रष्टाचारको जालो कस्तो छ भनेर देखाउँछ – अख्तियार प्रवक्ता

माई नगरपालिकामा लामो समय बसेको हुँदा ढकालले अझै बढी अनियमितता गरेको हुन सक्ने आशंका गरिएको छ। अख्तियारले आफन्तका नाममा किनिएको ठूलो परिमाणको जग्गासमेत रोक्का गरिदिएको छ। अख्तियार उच्च स्रोतबाट प्राप्त जानकारीअनुसार आमा प्रेमकुमारीको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखिएको ६ लाख ५५ हजार रुपैयाँ, सासू तुलसादेवीका नाममा काठमाडौं पुलचोकस्थित एनआईसी बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती रहेकी प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा राखिएको २१ लाख ६५ हजार, ढकालकै नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा राखिएको २७ लाख, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा राखिएको १३ लाख रुपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा पठाएर भक्तपुर ९ स्थित दधिकोटमा किनेको ६० लाख रुपैयाँ बराबरको चार आना जग्गा र बैंक खाता रोक्का गर्न परिपत्र भएको छ। भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ।

उता, झापास्थित पाराखोपी–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र आठ धुर जग्गासमेत भेटिएको छ। यी सबै कित्ताका जग्गा रोक्का गरिएका छन्। यस्तै, ललितपुरको झरुवाराशीमा आफू र पत्नीको नाममा रहेको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा रहेको पाँच आना एक पैसा तीन दाम जग्गासमेत अख्तियारले रोक्का राखिदिएको छ।

ढकाललाई अदालतबाट १० दिनको थुना अनुमति लिएर छानबिन भइरहेको छ। ढकालले विभिन्न सहरमा खरिद गरेको करोडौंको जग्गाको चर्चा सुनेर अख्तियारका अधिकारी छक्क परेका छन्। आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);