सबै बालबालिकालाई विद्यालय पठाउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सबै बालबालिकालाई विद्यालय पठाउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

झापा, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै बालबालिकाहरुलाई विद्यालय पठाउने उचित व्यवस्था गर्न जनप्रतिनिधिहरुलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अभिभावकहरुलाई सम्झाई बुझाई सबै बालबालिकाहरुलाई विद्यालय पठाउने व्यवस्था गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएका छन् ।

मंगलबार गृहजिल्ला झापाको भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै उनले सरकारले सबै बालबालिकालाई विद्यालय भर्ना गराउने राष्ट्रिय अभियान सुरु गरेकाले त्यसमा सबैको साथको आवश्यक्ता रहेको बताए।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विद्यालय आउन नसक्ने अशक्त बालबालिकाहरुलाई सरकार आफंैले उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले ‘सुरक्षा, शिक्षा र विकास अभियान’ लाई सरकारले एक साथ अघि बढाएको बताए ।

प्रधानमन्त्री ओलीले सुकुम्बासीहरुको उचित बसोबासको व्यवस्था गर्न पनि स्थानीय निकायहरुलाई सचेत गराए । उनले सुकुम्बासीको नाममा जथाभावी जग्गा अतिक्रमण गरेर बस्ने छुट दिन नसकिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सुकुम्बासीको नाममा लुट्ने, ठग्ने र भ्रष्टाचार गर्ने काम हुन नदिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सबैलाई गरिखाने बाटोतिर लाग्न पनि आह्वान गरे ।