प्रि-मनसुनको अवधिमा औसतभन्दा बढी पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अप्सरा लामिछाने

काठमाडौं, १७ वैशाख । केही दिनयता लगातार मौसम बदली भएको छ । वैशाख भएपनि असारजस्तो वर्षा भइरहेकाले मनसुन सुरु भएजस्तै लाग्छ । तर, मौसमविदहरुले प्रिमनशुन सक्रिय भएकाले मौसम बदली भएको बताएका छन् ।

वैैशाख महिनामा असारजस्तो पानी परेको छ । गएको चैत महिनाभर पनि त्यस्तै भयो । छिनमै घाम लाग्छ र छिनमै पानी पर्ने गरेको छ । यसरी धेरैलाई लाग्न सक्छ, यो वर्ष छिट्टै मनसुन सुरु भयो ।

तर, मनसुन नभएर प्रिमनसुन सक्रिय भएकाले मौसममा बदली आएको मौसमविद्हरु बताउँछन् । प्रिमनसुनसँगै बंगालको खाडीबाट जलवास्पयुक्त हावा आउनाले पनि यस्तो भएको मौसमविद राजु प्रधानाङ्ग बताउँछन् ।

उनका अनुसार पूर्वमा न्युनचापीय क्षेत्र बन्दा देशभरकै मौसममा बदली भएको हो । त्यसको प्रभावले अझै केही दिन लगातार झरी नपरेपनि बेलाबेला बदली भएर पानी पर्ने क्रम जारी रहने छ ।

सामान्यतया फागुन अन्तिम सातादेखि तापक्रम विस्तारै बढ्दै जाने गर्छ । तापक्रम बढ्दै गएपछि वायुमण्डलमा बनेको बाफ बादलमा मिसिन पुग्छ । यसरी बनेको बादलका कारण साँझ परेपछि पानी पर्ने गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार प्रिमनसुनी अवधिमा पानी पर्दा मेघ गर्जने, पानीसँगै असिना पर्ने, चट्याङ पर्ने सम्भावना बढी हुने गर्छ ।

तर, अहिले भइरहेको वर्षाको मनसुनी वर्षासँग सिधा प्रभाव नरहने भएकाले यसले खासै असर नगर्ने मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

यस वर्ष प्रिमनसुनको अवधिमा औसतभन्दा बढी पानी परेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । तर, प्रिमनसुनको अवधिमा परेको पानीकै कारण मनसुनी वर्षा राम्रो हुने भन्नेमा ढुक्क हुन नसकिने मौसमविद्हरु बताउँछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);