मोदीलाई नेपालमा भव्य स्वागत गर्ने तयारी भइरहँदा एसएसबीको ज्यादती चुलीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

मोदीलाई नेपालमा भव्य स्वागत गर्ने तयारी भइरहँदा एसएसबीको ज्यादती चुलीमा

tarbar

किशोर तामाङ,
कञ्चनपुर, १५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा भने सीमा विवादले तनावग्रस्त भएको छ ।

भारतीय पक्षसँगको सहमतिअनुसार नै दशगजा क्षेत्रमा नेपाली पक्षले गरेको तारबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेरेर फालिदिएपछि तनाव चुलिएको हो ।

जंगली जनावर नियन्त्रण गर्न भारतीय पक्षको सहमति लिएरै कञ्चनपुरको पुनर्वास नगरपालिकाले वडा नम्बर ९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक करिब ६ लाख रुपैयाँ खर्चेर विद्युतीय तार जडान गरेको थियो ।

तर, जब तारबार सकियो, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दादागिरी शैलीमा सबै त्यसलाई उखेलेर लग्यो । यसरी एसएसबीको दादागिरीबारे थाहा पाएपछि शनिबार कञ्चनपुर जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ, पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, बेदकोट नगरपालिकाका मेयर अशोक चन्द, प्रहरी चौकी खड्डा कंकडका देवबहादुर थलाल स्थालगत अनुगमनमा गए ।

तर, उनीहरुलाई समेत एसएसबीले करिब डेढ घण्टा रोक्यो । बल्लबल्ल भित्र छिरेका उनीहरुलाई १० मिनेटपनि बस्न दिएन । नेपाली पक्षको प्रतिनिधित्व गर्दै गएका अधिकारीलाई भारतीय पक्षले गरेको दुव्र्यवहार देखेपछि स्थानीय थप आक्रोशित बनेका छन् । पत्रकारलाई पनि उक्त क्षेत्रमा प्रवेश गर्न एसएसबीले रोकेको छ ।

भारतीय पक्षले ढलेको १ सय ९५ नम्बर पीलरलाई पनि सीमास्तम्भ नै नभएको तर्क गरिरहेको छ । उक्त पिलर हात्तीले त्यहाँ ल्याएको एसएसबीको दाबी छ । तर, त्यहाँ स्पष्टसँग ट्यागसहितको सीमास्तम्भ र हालसालैको खाल्डो देखिन्छ । स्थानीय सरकार भने यो घट्नाबारे निरिह देखिएका छन् ।

यो घटनाले सीमा क्षेत्रका बासिन्दालाई थप डर पैदा गराएको छ । एकातिर जंगली जनावरको, अर्कोतिर एसएसबीको । यो अवस्थालाई बेलैमा समाधान गर्न नसके यसक्षेत्रमा कुनै पनि बेला अप्रिय घट्ना हुन सक्ने स्थानीय अगुवाले चेतावनी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा भव्य स्वागत गर्ने तयारी भइरहँदा सरकारले गम्भीर रुपमा यस्ता विवाद समाधानमा अग्रसर हुनुपर्नेमा सीमाविदहरुले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);